काठमाडौं : नेपाल १० वर्षपछि आईसीसी टी-२० विश्वकपमा पुगेको छ । एसियाली छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो।
नेपालले १० वर्षअघि विश्वकप खेलेको थियो। अघिल्लो पटक विश्वकपमा जानबाट रोकेको यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपालले बदला पनि लिएको छ।
विश्वकप आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुँदैछ। एसियाली छनोटको फाइनल खेल्ने दुई टोली विश्वकपमा छनोट भएका छन्। नेपालले फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
मुलपानी क्रिकेट मैदानमा १३५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट क्षतिमा १७ बल अघि नै पुरा गरेको थियो ।
नेपालको जितमा आसिफ शेखले ६३ रनको अविजित इनिङ्स खेले । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।
कप्तान रोहित पौडेल पनि ३५ रनमा अविजित रहे । २१ बल खेलेका रोहितले ३ चौका र एक छ्क्का हानेका थिए । गुल्सन झा २२ र कुशल भूर्तेल ११ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । उसका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन लिए ।
नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले १-१ विकेट लिएका थिए ।