सर्लाहीमा गुल्शन झालाई अभिनन्दन

79

सर्लाही : सर्लाही निवासी राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्शन झालाई अभिनन्दन गरिएको छ।

पत्रकार महासंघ सर्लाही जिल्ला शाखाको आयोजना सोमबार मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा उनलाई खादा ओढाएर सम्मान गरिएको हो।

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले क्रिकेट खेलाडी गुल्शन झालाई यसअघि नचिने पनि खेल हेर्दै जाँदा चिन्न थालेको बताए। प्रजिअ धमलाले देशको गहनालाई सम्मान हुँदा अन्तस्करण खुसी भएको बताए।

क्रिकेटले नेपालमा धेरै सम्भावना बोकेको प्रजिअ धमलाको भनाइ थियो। सर्लाहीको छोरो गुल्शनले देशप्रति गर्व हुने काम गरेको उनले बताए। नेपालका प्रतिभाहरू वनको काँडाजसरी निस्केका भन्दै राज्यले प्रतिभामा लगानी गर्नुपर्नेमा उनले जोड दिए। राष्ट्रियता भनेको खेलाडी र कलाकारमा बढी हुने भन्दै प्रजिअ धमलाले गुल्शनलाई ब्राण्ड एम्बेसडर बनाउन आग्रह गरे। र यसका लागि आफूले सहयोग गर्ने पनि उनले बाचा गरे।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहलगायत अन्य अतिथिहरूले खेल क्षेत्र र त्यसमाथि पनि क्रिकेटले लिएको गतिलाई सम्मान गर्दै यसमा लगानी बढाउँदै लैजानुपर्ने बताए। पत्रकार महासंघ सर्लाहीका जिल्ला अध्यक्ष टंक क्षेत्रीले क्रिकेटहरूले देशको सान बढाएको र सयौं गुल्शन झाहरू जन्माउनुपर्ने बताए।

सन् २०२४ मा हुने टी-२० विश्वकपमा नेपाल छनोट हुँदा गुल्शनले उच्चस्तरको प्रदर्शन गरेका थिए। गुल्शन सर्लाही मलंगवा निवासी हुन्।