हरिवन : मृत्यु शङ्कास्पद देखिएपछि सर्लाहीकी एक किशोरीको शव ७ दिनपछि चिहानबाट निकालेर पोष्टमार्टमका लागि पठाइएको छ।
जिल्लाको हरिवन नगरपालिका-११, बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको शव प्रहरीले ७ दिनपछि चिहानबाट निकालेर आज (आइतबार) पोष्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पठाएको हो।
किशोरीको मृत्यु शङ्कास्पद देखिएकाले स्थानीय जनप्रतिनिधि र मुस्लिम अगुवाहरुको रोहबरमा आज बिहान खाल्डोबाट शव निकालिएको इलाका प्रहरी कार्यालय हरिवनका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अनिलराज गिरीले बताए।
खातुनको कात्तिक २६ गते राति रहस्यमय मृत्यु भए पनि उनको अन्तिम संस्कारपछि मंसिर १ गते मात्रै प्रहरीमा खबर पुगेको प्रहरी निरीक्षक गिरीले बताए। मृतक खातुनको शव परीक्षण गर्ने भनेपछि मृतकका बाबु सेख इर्साद र दाइ शेख चाँद फरार रहेको र उनीहरु खोजी भइरहेको उनको भनाइ छ।
खातुनको मृत्यु शङ्कास्पद देखिएपछि प्रहरीले उनकी सौतेनी आमा सकिना खातुन, मृतकका मामा शेख जिलानी र उनका छोरा शेख असजदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
