विशाल पौडेल : स्थानीय निर्वाचन २०७९ को देशै भरको चुनावी परिणाम आइरहदा अर्को पाँच बर्षका लागी लगभग सबै पालिकाहरुमा जनप्रतिनिधिहरु निर्वाचित भएर आइसक्नु भएको छ। नव-निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुमा बधाई तथा आगामी सुखद र सफल कार्यकालको शुभकामना।
अब जनप्रतिनिधि हुनुभएका ब्यक्तित्वहरु चुनाब अघिसम्म उम्मेदवार हुनुहुन्थ्यो। उहाँहरुले प्रत्येक मतदाताको घरघरमा गएर मत माग्नुभएको थियो। कतिपय घटना र स्थानमा खुट्टानै ढोगेर पनि मत मागेको देखियो। जसरी एउटा मतदाता चुनाव अघि भगवान रुपी भएर पुजीन्छ। चुनाव पछि त्यहि उम्मेदवार जब त्यहि जनताद्वारा अनुमोदित हुन्छ अर्थात मत पाँउछ त्यस पछि त्यस मतदातालाई किन निर्वाचित जनप्रतिनिधिले अबहेलना, तिरस्कार वा बेवास्ता गर्दछन् त? यसको अर्थ दुई वटा दृष्टिकोणबाट दिन सकिन्छ।
पहिलो तपाई मतदाता उहाँ उम्मेदवार रहदा उहाँको आर्थिक प्रलोभनमा पर्नुभयो अथवा उहाँबाट भोटको नाममा किनीनु भयो। अब तपाईको अधिकार सिद्वियो उहाँलाई प्रश्न उठाउने। अब उहाँ तपाईप्रति जवाफदेहि र कर्तब्यनिष्ठ हुनुपर्दैन्।
दोस्रो भनेको उम्मेदवार छदाँ तपाईले आफ्नो एजेण्डा जनतामाझ लानुभयो। जनताले तपाईलाई आफनो मत दिएर तपाईको लक्ष्य र काम गर्ने साहसको सम्मान गरे। पछि तपाई उम्मेदवार बाट जनप्रतिनिधि हुनुभयो तपाईले आफुलाई जनताले लगाएको गुन बिर्सिनुभयो। तपाई भ्रष्ट, मनमक्त, उन्मुक्त र झेली हुनुभयो। जनतालाई नोकर सम्झनुभयो र आफुलाई मालिक। जसले तपाईको बिबेकमा ताल्चा लगाईदियो। घमण्ड र शक्तिको उन्मादमा तपाई चक्रव्युउमा फस्नुभयो। अब तपाईको सम्पूर्ण ध्यान आफना आसेपासे र आफन्त केन्द्रित भयो। जसका कारण जनताको मतको अबमूल्यन र अपहेलना भयो।
आम रुपमा देखिएको कारण चाहिँ दोस्रो हो किनकी तपाईको जनताप्रतिको बेईमानी र घातको मूल्य जनताले त पक्कै तिर्नुपर्छ नै तर तपाई पनि पाँच बर्ष पछि राजनीतिक रुपमा रसातलमा पुग्नुहुन्छ। घाटा त दुबैलाई भयो नि होइन र? तर पछि थाहा हुन्छ मुख्य घाटा त उम्मेदवारलाई भयो किनकी उसको पाँच बर्षको क्रियाकलापले उसको पुरै राजनीतिक जिवन सकिने स्थिती आँउछ।
तर अब माथिका जस्ता जनप्रतिनिधि अबका मतदाताले कदाचित अपेक्षा गर्दैनन्। अबका जनप्रतिनिधि अलि बढि अध्ययनशील, जिम्मेवार, सोचनिय, कुटनीतिज्ञ, सहजकर्ता र आदर्शको पात्र बन्नुपर्ने हुन्छ।
चुनाव अघि दलहरुका उम्मेदवार हरुले बजाए को डिजेको चर्को आवाज कानले अझै भुल्न नसकिरहेको बेला फेरि जितको खुशीमा अर्को डिजे जात्रा शुरु भएको छ बजार,गल्ली,चोक-चोकमा तर अहिले चाहिँ जनप्रतिनिधिहरुले। के जितपछी साँच्चिकै डिजे बजाएर गाउँ,चोक हिड्न जरुरी छ त? जनतासँग साच्चिकै जितको खुशी बाड्न मन भए जनताको पीडा बुझ्नुस्,उनीहरुको गुनासो सुन्नुस्,अघिल्लो कार्यकालमा हुन नसकेका विकासका परियोजनाहरुमा खाका बनाउनुस,बरु गाउँ-गाउँ गएर जनताहरुलाइ चुनाव अघि बाडेका आश्वासन हरु पूरा गर्छु भनेर प्रतिबद्धता जनाउनु,गाउँ गाउँ गएर डिजे बजाएर नाचगान गर्न जरुरी छैन,जितेका प्रतिनिधिहरु यो पटकको कार्यकालमा जनताले अनुभव गर्ने खालको विकास योजनाको काम गरे जनता उसै खुशी हुने छ्न्। नाचगान त देउसी भैलो ,मेला महोत्सव मा देक्खिएकै छ नि,…। होइन र?
नयाँ जनप्रतिनिधिहरुले धेरै आशा र अपेक्षा पुरा गरेपनि नगरेपनि न्युनतम तपाईहरुबाट अबको नवयुगमा आम जनताले अनुसरण गर्न सक्ने राजनीतिक संस्कार, सफा र अनुकरणीय व्यक्तित्व, निष्कलंक र पारदर्शि आर्थिक हिसाबकिताब, न्युनतम जनताका मागको सम्बोधन र अर्को पटक निर्वाचित भएर आउने जनप्रतिनिधिलाई चुनौती हुने गरी तपाईले छोड्ने छाप निश्चित हुनुपर्छ, पक्का हुनुपर्छ।
जसबाट समाज रुपान्तरणको अभियानमा तपाईहरु जस्ता समाजका नेतृत्वको बारेमा भावी पुस्ताले बातचित गर्ने र सम्झीरहने आधार बनोस्।
फेरी पनि बधाई अनि सफल कार्यकालको सम्पूर्णमा शुभकामना।