सर्लाहीमा मात्र ५५ प्रतिशत रोपाइँ, सुक्न थाले रोपेका धान

132

सर्लाही : असारको दोस्रो सातादेखि पानी नपर्दा मधेश प्रदेशका रोपाइँ गरिएका खेत सुक्न थालेका छन्। भर्खरै रोपिएका धान पनि पहेंलो हुँदै डढ्न थालेको छ। खेतमा धाँजा नै फाटेको छ।

साउन शुरु भइसक्दा पनि पानी पर्न सकेको छैन। पर्याप्त पानी नपर्दा मधेश प्रदेशमा अहिलेसम्म यस वर्ष जम्मा ५७ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ।

मधेश प्रदेशको दुई तिहाइ धान खेतमा आकाशे पानीको भरमा खेती हुने गर्छ। जसका कारण अझै ४३ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले जानकारी दिइन्। किसानहरू अहिले स्यालो ट्युबवेल तथा डिप बोरिङको पानीको सहारामा खेती गर्न बाध्य भएका छन्।

आकाशे पानीकै भरमा अधिकांश किसानले खेती गर्ने मधेश प्रदेशका आठै जिल्लामा ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ४ लाख ५ हजार ४ सय ५० हेक्टरमा मात्रै धान रोपाइँ हुने गरेको छ।

मधेश प्रदेशको धान खेती हुने क्षेत्रफलमध्ये २ लाख २९ हजार १ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी एवं कृषि अधिकृत मनिष पालले जानकारी दिए। गत वर्ष पर्याप्त वर्षा हुँदा असारभित्रै ७० प्रतिशत रोपाइँ सकिएको थियो।

प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत तथा सबैभन्दा कम पर्सामा ४२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। साथै बारामा ६०, सिरहा र सर्लाहीमा ५५, रौतहटमा ५०, महोत्तरीमा ४५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ।

धान रोपिएका कतिपय ठाउँहरूमा वर्षा नहुँदा खेत चिराचिरा परेका छन्। रोपो नै मर्ने हो कि भन्ने चिन्तामा किसानहरू छन्। अबको एक सातासम्म वर्षा नभए धानमा धेरै क्षति हुने सम्भावना रहेको वरीष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले बताए।

Shares15