म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन खुला

102

सर्लाही : प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा प्रहरी प्रधान कार्यालयले आज बिहीबारदेखि म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ।

म्यादी प्रहरी भर्नाका लागि इच्छुकले ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आउँदो असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले गत आइतबार म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड-२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

प्राथमिकता कसलाई ?

यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिएको छ।

साथै, स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन-२०७४ वा स्थानीय तह निर्वाचन-२०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा-२०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिइ शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिहरू र विदेशका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

मापदण्ड के-के छन् ?

दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्ने उल्लेख छ। असोज ७ गते सम्पर्क मिति तोकिएको छ। छनोट भएका म्यादी पुलिसको कार्यअवधि ४० दिनको हुनेछ।

दरखास्तसम्बन्धी फाराम सबै जिल्ला प्रहरी कार्यालयमा उपलब्ध हुनेछन्।

Shares11