सर्लाही : मधेस प्रदेश सभामा यस पटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा चयन गरेका छन्। फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व यस पटक मधेस प्रदेशसभा देखिने भएको छ ।
प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सात प्रदेशसभा सदस्य चुनिने छन्। अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनः दोहोरिएका हुन्।
पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ। मुख्यमन्त्री लालबाबु राउत फेरि दोहोरिएका हुन्। जनता समाजवादी पार्टीका राउत पर्सा–१ को प्रदेशसभा ख बाट निर्वाचित भए।
कांग्रेस नेता रामसरोज यादव धनुषा–३ को प्रदेशसभा क बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित भए। उनी यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसकेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल पनि बारा–४ प्रदेशसभा ख बाट दोस्रो पटक निर्वाचित भए। सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री भइसकेका छन्।
पर्सा–२ को प्रदेशसभा ख बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित भए। २०७४ को निर्वाचनमा कुर्मी तत्कालीन राजपाबाट निर्वाचित भएका थिए। पर्साकै अर्को क्षेत्र–४ प्रदेशसभा क बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए।
रौतहट–४ प्रदेशसभा ख बाट जसपाका शेषअबुल कलाम आजाद पनि दोस्रो पटक निर्वाचित भए।
यसैगरी सर्लाहीबाट चार जना प्रदेशसभा सदस्य दोस्रो पटक निर्वाचित भएका छन्। सर्लाही–१ प्रदेशसभा क बाट लोसपाका उपेन्द्र महतो, १ प्रदेशसभा ख बाट बेची लुङ्गेली, ३ प्रदेशसभा ख बाट जसपाका सञ्जय कुमार यादव र ४ प्रदेशसभा क बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भए।
कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीसमेत भइसकेका छन्।
त्यस्तै महोत्तरी–३ प्रदेशसभा क मा लोसपाबाट उम्मेदवार बनेका अभिराम शर्मा र ३ को प्रदेशसभा ख बाट रानी शर्मा पुनः निर्वाचित भए।
धनुषा–२ प्रदेशसभा ख मा जसपाका रामाशीष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए। सप्तरी–३ प्रदेशसभा क मा कांग्रेसका मोहमद समिम पनि दोस्रो पटक निर्वाचित भए।
नयाँ अनुहार
पर्सा–१ प्रदेशसभा क बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा–२ प्रदेशसभा क बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल र पर्सा–३ प्रदेशसभा ख बाट जितेका कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो।
यस्तै, बारा–३ प्रदेशसभा क बाट निर्वाचित एमालेका रवीन्द्रदास श्रेष्ठ र बाराकै क्षेत्र–४ प्रदेशसभा क बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुन्। रौतहटमा प्रदेशसभामा निर्वाचित सातजनामध्ये ६ नयाँ छन्। क्षेत्र–१ प्रदेशसभा क बाट नागेन्द्र साह र १ प्रदेशसभा ख बाट कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।
कांग्रेसका दुवै नेताको प्रदेशसभाको पहिलो यात्रा हो । कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि हुन्।
यसैगरी, क्षेत्र–२ प्रदेशसभा क मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र–२ प्रदेशसभा ख बाट निर्वाचित कनिश पटेल, क्षेत्र–३ प्रदेशसभा क मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र–४ प्रदेशसभा क मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुन्।
सर्लाही–४ प्रदेशसभा ख मा माओवादीका फकिरा महतो र धनुषा–२ प्रदेशसभा क मा एमालेका लखनदास तत्मा निर्वाचित हुँदै पहिलो पटक प्रदेशसभा सदस्य बने।
सप्तरीका ६ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँचजना नयाँ छन्। यसमध्ये चारजना नयाँ पार्टी ‘जनमत पार्टी’ का छन्।
जसमा क्षेत्र–३ प्रदेशसभा ख मा शम्भुकुमार साह, क्षेत्र–२ प्रदेशसभा क मा शतिशकुमार सिंह, क्षेत्र–२ प्रदेशसभा ख मा महेशप्रसाद यादव र क्षेत्र–१ प्रदेशसभा ख मा सकिल मियाँ निर्वाचित भएका छन्। क्षेत्र–१ प्रदेशसभा ख मा जित्नुभएका एमालेका राजकुमार लेखी पनि नयाँ छन्।
मन्त्री जो पराजित भए
विसं २०७४ मा निर्वाचित भई प्रदेशका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका केही मन्त्रीहरू भने यसपटक पराजित भएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहेका शैलेन्द्र साह सप्तरी–२ प्रदेशसभा क बाट पराजित भए।
यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका योगेन्द्र राय यादव पनि पराजित भए। उनी रौतहट–१ प्रदेशसभा क मा उम्मेदवार थिए।
प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झाले पनि पराजय बेहोरेका छन्।