सर्लाही : केही वर्षयता सर्लाहीका किसानले तोरी खेती बढाउँदै लगेका छन्। यहाँका किसानले उखु मासेर तोरी खेती सुरु गरेका हुन्।
तीन/चार वर्षयता सर्लाहीको उत्तरी क्षेत्रका हरिवन, लालबन्दी, बागमती, ईश्वरपुरलगायत ठाउँका किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबालीको खेती बढाउँदै लगेका छन्।
लगानीसमेत नउठेपछि आफूले पनि उखु खेती मासेको सर्लाहीको हरिवन-८ का किसान हरि निरौलाले बताए।
‘उखुमा लगानी अनुसारको मूल्य छैन,’ निरौलाले भने, ‘यताका सबैजसो किसानले अहिले उखु मासेर तोरी, परबल, बोडी, मास, धान, मकै कोदो जस्ता परंपरागत अन्नबाली लगाउँन थालेका छन्।’

दुई दशक अघिसम्म सर्लाही तोरी खेतीमा अब्बल जिल्लाको रुपमा गनिन्थ्यो। हरिवनमा चिनी उद्योग स्थापना भएपछि यहाँका किसानले सबैखाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन सुरु गरेका थिए। झण्डै २० वर्षपछि यहाँका किसान पुनः उखु मासेर पुरानै खेतीमा फर्किएका हुन्।
‘किसानले तोरी खेती मासेपछि खाने तेलको मूल्य आकासियो,’ निरौलाले भने, ‘अहिले तोरी झार्नेबित्तिकै क्विन्टलेको १५ हजारका दरले बिक्री हुन्छ। जग्गाजमिन धेरै हुनेले व्यावसायिक उद्देश्यले तोरी खेती गरेका छन्। थोरै जमिन हुनेहरुले आफ्ना लागि मात्रै भए पनि तोरी लगाउन थालेका छन्।’

थोरै लगानी गर्दा मनग्गे आम्दानी हुने भएपछि किसानले तोरी खेती बढाउन थालेका हुन्। सिँचाइ सुविधा नभएको जमिनमा पनि धेरथोर तोरी उत्पादन हुन्छ।
यहाँका किसानले धान, हिउँदे मकैजस्ता बाली उठाएपछि तोरी खेती गर्छन्। तोरीभित्र चना, मुसुरोजस्ता दलहन बाली पनि हुन्छ। तोरी, चना भित्र्याएपछि खेतबारी बर्खे मकै खेतीका लागि तयार हुन्छ। तीन बाली लगाउँदा किसानले उखु खेतीबाट भन्दा पनि धेरै आम्दानी गर्छन्।
किसानले उखु खेती मास्दै गएपछि सर्लाहीका चिनी उद्योगले भने केही वर्षयता भनेजति उखु पेल्न पाएका छैनन्। यसले उद्योगहरुको स्थायित्वमै संकट सिर्जना भएको छ।नेपालखबर