उखुको मूल्य प्रतिक्विन्टल ११५ बढाउन सर्लाहीका किसानको माग

93

सर्लाही : सर्लाहीका किसानले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५ रुपैयाँ कायम गर्न माग गरेका छन्। 

उखुको क्रसिङ सिजन नजिकिँदै गर्दा सर्लाहीका किसानले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५ रुपैयाँ कायम गर्न माग गरेका छन्। गत सिजनमा किसानले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ पाएका थिए। 

मिलगेट उखु उत्पादक समिति सर्लाहीले आइतबार हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा ज्ञापनपत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० को लागि उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५ रुपैयाँ कायम गर्न माग गरेको हो। 

सर्लाहीका किसानले यस वर्ष उखुको मूल्य गत वर्षभन्दा प्रतिक्विन्टल एक सय १५ रुपैयाँ वृद्धि गर्न माग गरेका हुन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई बोधार्थमा राखेर उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर नेपाललाई बुझाइएको ज्ञापनपत्रमा उखु किसान घाटा सहन नसकी उखु खेतीबाटै पलायन हुन थालेकाले यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराइएको छ। 

ज्ञापनपत्र बुझाउन निवर्तमान प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, मिलगेट उखु उत्पादक समितिका कार्यवाहक अध्यक्ष राजकुमार उप्रेती, कांग्रेस हरिवन समितिका सभापति रामशरण उप्रेती, एमाले हरिवनका अध्यक्ष सीताराम पोखरेललगायतका किसान प्रतिनिधि उद्योगमा पुगेका थिए। 

‘केही वर्षदेखि लगातार चिनीको मूल्य वृद्धि भइरहेको छ। चिनीको मूल्यवृद्धिअनुसार उखुको मूल्य वृद्धि भएको छैन’, ज्ञापनपत्रमा भनिएको छ, ‘उखु खेतीमा भएको लागत वृद्धि र चिनीमा भएको मूल्य वृद्धिलाई ध्यानमा राखेर उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५ कायम गरिए उखु किसानले जेननेत उखु खेती गर्न सक्नेछन्। नत्र उखु किसानहरु उखु खेतीबाट पलायन हुने क्रम अझ बढ्दै जाने छ।’ 

हरेक वर्ष किसानले उखुको उचित मूल्य नपाउने र तोकिएकै मूल्य पनि समयमै नपाउने समस्या छ। 

उद्योगी र सरकारले तोकेकै उखुको मूल्य पाउन पनि किसानले पटकपटक सिंहदरबारसम्म धाउनुपर्ने र राजधानीमा गएर धर्नामा बस्नुपर्ने बाध्यता छ। जसका कारण किसान उखु खेतीबाटै पलायन हुन थालेका छन्। 

हेर्नुहोस् ज्ञापनपत्र :