रौतहट : बिहे गरेर भारत पुगेकी नेपाली चेली बेपत्ता भएकी छन्। रौतहटको कटहरिया नगरपालिका माइती भएकी २३ वर्षीया रिंकु कुमारी सोनी बेपत्ता भएकी हुन्।
भारत बिहार पताही थानाक्षेत्र अन्तर्गत पदुमकेर गाउँमा बिहे गरेर पुगेकी उनी गत शनिबारदेखि बेपत्ता भएकी हुन्।
उनका श्रीमान ३५ वर्षीयप्रदीप साह सोनारसहित परिवारका अन्य सदस्यसमेत सम्पर्कविहीन भएका छन्। माइती पक्षले छोरीको हत्या भएको हुन सक्ने आशंका गर्दै सोही कारण ज्वाइँसहितको परिवार सम्पर्कविहीन बनेको आरोप लगाएका छन्।
ज्वाइँ प्रदीप साहले छोरीमार्फत आफूसँग २ लाख रुपैयाँ मागेको र सो दिन नसक्दा छोरी बेपत्ता हुन पुगेको रिंकुकी आमा सोमारी देवीले बताइन्।
रिंकुका भाइ संजिव सोनीका अनुसार आइतबार साँझ ज्वाइँ प्रदीप साहले फोन गरेर रिंकु सोनीले घरमै पासो लगाएर आत्महत्या गरेको बताएका थिए। त्यसपछि आफूहरु भारत जाने तयारी गर्दैगर्दा फेरि फोन गरेर दाहसंस्कार गरिसकेको बताएर फोन काटेको उनको भनाइ छ।
आइतार राति ११ बजे माइती पक्ष छोरीको घर पुग्दा सोनारको घरको मुलढोकामा ताला लागेको थियो। भोलिपल्ट गाउँमा सोधीखोजी गर्दा कसैले पनि भरपर्दो जवाफ नदिएको र फोन गर्दा फोन बन्द रहेको पीडित पक्षको भनाइ छ। लगत्तै पतांही थानामा गएर भारतीय प्रहरीलाई घटनाबारे बताउँदा कुनै वास्ता नगरेको संजिवको भनाइ छ।
लामो समयदेखि रौतहटस्थित राजपुर चोकमा प्रदीपका बुवा ललन साहले सुनचाँदीको व्यवसाय गर्दै आएका थिए। यता साहले पसलका सबै सामान लगेको खुलेको छ।
इलाका प्रहरी कार्यालय राजपुरमा उजुरी दिँदा सई अरुण सिंह नेतृत्वको टोलीले पसलमा खानतलासी गर्दा सामानहरु सबै लिएर गइसकेको खुलेको हो। पहिल्यै देखि फरार रहेकाले घटना सुनियोजित भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
करिब ३० बर्ष अघिदेखि राजपुर चौकमा सुनचाँदी व्यवसाय गर्दै आएका ललन साहको छोरा प्रदीपले रिंकुसँग तीनबर्ष अघि हिन्दु परम्परा अनुसार बिहे गरेका थिए।
गत बर्ष पहिलो सन्तानको रूपमा अस्पतालमा छोरीको जन्म भएलगत्तै शिशुको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर बुढामगरले घटनाको पुष्टि गर्दै सत्यतथ्य छानबिनको लागि भारतीय समकक्षीसँग कुरा भैरहेको जानकारी दिए। रातोपाटी