सर्लाही : जिल्लाको मलंगवाबाट बालकलाई अपहरण गरी ज्यान मारेको आरोपमा बालककै आफन्तहरु पक्राउ परेका छन्।
गत चैत २० गते सर्लाहीको मलंगवा नगरपालिका-१२ बस्ने दिपेन्द्र ठाकुरको ८ बर्षिय छोरा मिठु भनिने आकाश ठाकुर आफ्नै घर अगाडीबाट बेपत्ता भएका थिए।
स्थानीयहरुको सहयोगमा प्रहरीले चलाएको सर्च अपरेशनको क्रममा खोजतलास गर्दै गर्दा फेसबुक म्यासेन्जरबाट आकाशको आफन्तसँग १५ लाख रुपैयाँ फिरौती मागेको देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको कार्यालयहरुको सहकार्य र समन्वयमा यस कार्यालयबाट प्रविधिको प्रयोग गरी सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा आकाशलाई स्थानीय जगदिश बडहीको घरको छतमा लगेर मारेको खुल्न आएको बताइएको छ।
आकाशलाई जगदिश बडहीको घरको माथिल्लो तल्लामा लगी कर्तव्य गरी मारी लास प्लाष्टिकको बोरा भित्र राखी जगदिश बडहीको घरको शौचालयको सेफ्टी टंयाकी भित्र हाली लुकाएको अवस्थामा प्रहरीले फेला पारेको थियो।
सोही आरोपमा स्थानीय ६० बर्षिय जगदिश बडही, उनको छोरा बर्ष २१ को कृष्ण ठाकुर, कृष्णको श्रीमति बर्ष १८ की निरुता शर्मा, सोही ठाउँ बस्ने, बर्ष २५ की संगीता बडही, करिकबा भन्ने सुनिल ठाकुर बरही, ५० बर्षिय नेवा ठाकुर र मलंगवा नगरपालिका-११ बस्ने बर्ष ३१ को राकेश ठाकुरलाई पक्राउ गरिएको हो।
तत्काल प्रहरी टोली सो ठाउँमा खटी गई हेर्दा शौचालयको सेफ्टी ट्यांकी भित्र सेतो रङ्गको प्लाष्टिकको बोरा भित्र बालक आकाशको लास फेला परेको थियो।
लासजाँच प्रकृति मुचुल्का समेतको कार्य सम्पन गरी पोष्टमार्टम पश्चात् मृतकको आमा महासुन्दर ठाकुरलाई बुझाएको थियो।
पक्राउ व्यक्तिहरु माथि अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।