बागमती नगरपालिकाका लेखा अधिकृत पुर्पक्षका लागि जेल चलान

11972

सर्लाही : जिल्लाको बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल पुर्पक्षमा कारागार चलान भएका छन्।

जिल्ला अदालत मलंगवाका न्यायाधीश टेकनाथ गौतमको शुक्रबारकाे ईजलासले अभियुक्त पाेखरेललाई पुर्पक्षका लागि सिन्धुली कारागार चलान गर्न आदेश भएको हो।

जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेकाे ज्यान मार्ने उद्योग तथा आपराधिक षडयन्त्र मुद्दामा हिजो (शुक्रबार) दिनभर भएकाे थुनछेक बहसपछि जिल्ला न्यायाधीश गाैतमले लेखा अधिकृत पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका हुन्। जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्यालले अभियुक्त पाेखरेललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएकाे जानकारी दिए।

सर्लाहीकै हरिवन नगरपालिका-११ निवासी व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न भारतबाट सुटर ल्याएको भन्दै उजुरी परेपछि फरार रहेका पोखरेललाई गत चैत ६ गते हिमाली जिल्ला म्याग्दीबाट स्थानीय प्रहरीले पक्राउ गरी सर्लाही पठाएकाे थियाे। गत पुस २२ गते जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि सर्लाहीकै हरिवन नगरपालिका-९, नोचा निवासी लेखा अधिकृत पाेखरेल फरार भएका थिए।

लेखा अधिकृत पोखरेलको मुख्य योजनामा आफूलाई गोली हान्न तीनजना भारतीय सुटरलाई हरिवन स्थित आफ्नाे घर क्षेत्रमै ल्याएको भन्दै व्यवसायी रायमाझीले जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएका थिए।

आफूलाई मार्न अभियुक्त पाेखरेलबाट सुपारी बुझेर भारतबाट आएका सुटर आफैले सम्पर्क गरेर सम्पूर्ण याेजनाबारे बताएकाे र ती सबै कुराकाे भिडियो र अडियाे रेकर्ड समेत सुरक्षित रहेकाे रायमाझीले दाबी गरेका छन्।

Shares94