सर्लाही : सर्लाही र सिन्धुली जिल्लालाई सडक सञ्जालमा जोड्ने हरिवन-क्यानेश्वर सडकमा पुल निर्माण कार्य सुरु भएको छ।
सिन्धुलीको हरिहरपुरगढी-७,क्यानेश्वरस्थित क्यान खोलामा पक्की पुल निर्माण गर्न लागिएको हो। हरिवन-क्यानेश्वर सडकमा बन्न लागेको यो पहिलो पक्की पुल हो।
सर्लाहीको हरिवनस्थित पूर्वपश्चिम राजमार्गबाट उत्तर चुरे पहाड हुँदै सिन्धुलीको क्यानेश्वर जोड्ने यो सडक १५ वर्षअघि देखि नै सञ्चालनमा आएपनि स्तरोन्नती हुन सकेको छैन। सडकको धेरैजसो भाग अझै धुलाम्मे छ।
क्यान खोलामा बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको ८५ मिटर लम्बाई रहने पुलको सिन्धुली-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले शिलान्यास गरेका छन्।
पुल निर्माण पूरा हुँदा ८ करोड ३३ लाख ४३ हजार खर्च हुने अनुमान गरिएको छ। पुलको निर्माणको ठेक्का रसुवा-ईलाईट जेभी कपन काठमाडौँले लिएको छ।
पुलमा दुई वटा स्पान रहने प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देवनारायण यादवले जानकारी दिए।
क्यानेश्वरका स्थानीय बासिन्दासमेत रहेका जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले हरिवन क्यानेश्वर सडकमा पुल निर्माण कार्यको थालनी हुनु खुसीको कुरो भएको बताए। उनले यो सडक स्तरोन्नतीको लागि स्थानीय पालिकाहरुले पहल गर्नुपर्नेमा जोड दिए।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले क्यान खोलामा पक्की पुल निर्माण सुरु भएसँगै क्यानेश्वर क्षेत्रमा विकासको नयाँ ढोका खुलेको भन्दै खुसी व्यक्त गरे।