सर्लाही : आयोजक बागमती युवा क्लबलाई हराउँदै मछिन्द्र क्लब राजर्षि जनक गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
सर्लाहीको सन्तोष श्रेष्ठ स्मृति रंगशालामा आज (बुधबार) भएको अन्तिम क्वार्टर फाइनलमा बागमतीलाई टाइब्रेकरमा ५-३ गोलले हराउँदै मछिन्द्रले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
टाइब्रेकरमा बागमतीका देवा गुरुङले गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले ब्लक गर्दै जित सुनिश्चित गरे। टाइब्रेकरमा मछिन्द्रका विमल घर्ती मगर, पुजन उपरकोटी, कप्तान सुजल श्रेष्ठ, दिवाकर चौधरी र देवेन्द्र तामाङले गोल गरे।
बागमतीका अभि लामा, अमर श्रेष्ठ र कप्तान सुमन चाम्लिङ राईले गोल गरे। निर्धारित समय र अतिरिक्त समयमा दुवै टोली १/१ को बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको पाँचौं मिनेटमा बागमतीका राज भुषालले गोल गर्दै बागमतीलाई अग्रता दिलाए। खेलको ८० औँ मिनेटमा सुजल श्रेष्ठको कर्नरमा मछिन्द्रका देवेन्द्र तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए।
यसखेलसँगै सेमिफाइनल पुग्ने चारवटै टोलीको छिनोफानो भएको छ। यसअघि भएको खेलबाट सुदूरपश्चिम ११, जावालाखेल युथ क्लब र संकटा क्लब सेमिफाइनलमा पुगिसकेका छन्।
बिहीबारबाट सेमिफाइनलका खेल शुरु हुने भएका छन्। भोलिको पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।