थारु चलचित्रका कलाकार परशुराम चौधरीको निधन

912

सर्लाही : थारु चलचित्रका निर्माता तथा कलाकार परशुराम चौधरीको ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा शुक्रबार निधन भएको छ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि दुई महिना अघि अस्पताल भर्ना भएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको हो। अस्पतालले चौधरीको हृदयघातबाट मृत्यु भएको जनाएको छ।

रेशम चौधरीले निर्माण गरेको चर्चित थारु भाषाको चलचित्र कमैयामा चौधरीले प्रमुख पात्रका रुपमा भूमिका निर्बाह गरेका छन्। चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका छन्।

अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए। धनगढी उपमहानगरपालिका-१ शिवनगरका स्थायी बासिन्दा चौधरी २०११ मा युरोप गएका थिए। केही वर्ष बेल्जियममा बसेका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दैआएका थिए।

स्वर्गीय चौधरीका आमा, दुई पत्नी र तीन छोरी छन्।