सर्लाही : सर्लाहीमा बाख्रा गोठालो गएका एक व्यक्ति मृत फेला परेका छन्।
जिल्लाको ईश्वरपुर नगरपालिका-१३, श्रीनगर निवासी ५५ वर्षीय चुलाइ महतो मंगलबार दिउँसो जंगलमै मृत फेला परेका हुन्।
सोमबार दिउँसो बाख्रा लिएर उनी नजिकैको सागरनाथ वन विकास परियोजनाको जंगलतिर लागेका थिए।
सोमबार रातिसम्म पनि महतो घर नफर्किएपछि स्थानीयबासीले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा मंगलबार दिउँसो शंकास्पद अवस्थामा महतोको शव स्थानीय सागरनाथ जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए।
मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेको अवस्थामा महतोको शव भेटिएको हो।
जंगलमा बेहोस अवस्थामा फेला परेका महतोलाई प्रहरीले तत्कालै मोडेल अस्पताल लालबन्दी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतक महतोको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।
‘मृतकको शरीरमा चोटपटकसमेत रहेकाले महतोलाई कसैले आक्रमण गरेको आशंका छ,’ डीएसपी राईले भने, ‘हामीले घटनाको अनुसन्धान अघि बढाएका छौँ।’
अविवाहित महतोको घरमा एक्लै बस्ने गरेका स्थानीयले बताएका छन्। स्थानीयका अनुसार उनमा राम्ररी बोल्न नसक्ने वौद्धिक अपांगता थिए।
उनले चराउन लिएर गएकामध्ये केही बाख्रा घर फर्किएर आए पनि धेरै बाख्रा अझै आएका छैनन्।