दाङ : दाङमा सासूससुराले आफ्नी बुहारीको कन्यादान गरिदिएका छन्।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका-६ शिखर कोलोनी निवासी शिव श्रेष्ठ र बिना श्रेष्ठले बुहारी आरति श्रेष्ठको कन्यादान गरेका हुन्।
श्रेष्ठ दम्पतीले बिहीबार बुहारी आरतिको बर्दघाट नगरपालिका-५ पालडाँडा निवासी उत्तमध्वज केसी र जुना केसीका छोरा चन्दनध्वजसँग कन्यादान गरिदिएका हुन्।
श्रेष्ठ दम्पतीका छोरा सुविन श्रेष्ठको २०७४ कात्तिक ५ गते ३३ वर्षकै उमेरमा क्यान्सरका कारण निधन भएको थियो। छोराको मृत्युपछि एक्लिएकी बुहारी आरतिलाई छोरीको रूपमा उनीहरूले हेर्दै आएका थिए।
३० वर्षीया आरति सासूससुरासँग तुलसीपुरमा बस्दै आएकी थिइन्। श्रेष्ठ दम्पतीले आरतिलाई छोरीको रूपमा स्विकारेर उनलाई ‘स्टाफ नर्स’ समेत पढाएका थिए। उनको ‘स्टाफ नर्स’ कोर्स सकिएपछि विवाह भएको हो।
छोराको मृत्युपश्चात् एक्लिएकी बुहारीलाई छोरीको रूपमा हाम्रो समाजले विरलै स्वीकार्ने गर्छन् तर श्रेष्ठ दम्पतीले आरतिलाई छोरी स्वीकार गरी बुहारीको कन्यादान (विवाह) गरेर उदाहरणीय कार्य गरेका छन्।
हाम्रो समाजमा एकल बुहारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै श्रेष्ठ दम्पतीले बुहारीको विवाह गराइदिएका हुन्। आरतिका ससुराले छोरी आरतिको उज्ज्वल भविष्यको कामना गर्दै कन्यादान गरिदिएको बताए।
उनले भने, ‘आफ्नो सन्तानको रूपमा एउटै छोरा थियो। त्यो पनि सानै उमेरमा भगवान्को प्यारो भयो। छोरा स्वर्गवास भए पनि सन्तान भनेकै हाम्री बुहारी थिइन्। बुहारीलाई पनि आफ्नै सन्तान मान्यौं। छोरी आरतिको भविष्यलाई मद्देनजर गरेर हामीले विवाह गरिदियौं। छोरीको विवाह गर्न पाउँदा हामी धेरै खुशी छौं। छोरी आरतिको भविष्य सुन्दर होस्। हामी यही चाहन्छौं।’
एकल महिला भएपछि अलपत्र परेका धेरैका छोरीहरू भएको बताउँदै शिवले घरमाइतीले उनीहरूका समस्या नबुझेर जिन्दगीभर दुःख पाएका उदाहरण धेरै रहेको बताए।
उनले भने, ‘ हामीले बुहारीलाई पनि छोरी मानेका हौँ। छोरीको भविष्यका लागि घर पक्ष र माइती पक्ष सबैको सल्लाहले विवाह गरिदिएका हौँ।’
उनका अनुसार यो विवाहले बुहारी पनि छोरीसरह हुन् भन्ने सकारात्मक सन्देश दिएको छ। उनले यसबाट महिला हिंसा न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वास लिएको पनि बताए।
