सर्लाही : सर्लाही आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्थानीय ‘भरत ताल’ भ्रमण गरे। उनले सर्वसाधारणसँगै जेटबोट चढेर तालमा सयर गरे। अटो चढेर ताल वरपर हुइँकिए।
बागमती नगरपालिका-१२ निर्मित १२१ बिघामा फैलिएको भरत ताल यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न थालेको छ।
आइतबार सर्लाहीको हरिवनमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को कार्यक्रममा सहभागी हुन आएका पर्यटनमन्त्री किराँतीलाई बागमती नगरपालिकाकी उपमेयर लीलाकुमारी मोक्तानले आफूहरूले निर्माण गरेको तालसम्म पुग्न आग्रह गरिन्। उपमेयरकै आग्रहमा मन्त्री किराँती भरत ताल पुगे।
यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बहालवाला उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे, मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत, गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायत उच्च पदस्थ व्यक्तिहरूले यो ताल भ्रमण गरिसकेका छन्।
बागमती नगरपालिकाले अझै तालको नामकरण गरेको छैन। तर, जनजिब्रोमा ‘भरत ताल’को नामले यो ताल देश-विदेशमा प्रख्यात् भइसकेको छ।
बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको नेतृत्वमा निर्माण भएकाले सर्वसाधारणले यसलाई भरत ताल भनेका हुन्। तर, बागमती नगरपालिकाले राखेको बोर्डमा यसको नाम ‘बागमती माछा पोखरी’ लेखिएको छ।
मन्त्री किराँती पुग्दा मेयर थापा भने नगरमा थिएनन्। स्वास्थ्य उपचारको सिलिसिलामा उनी यतिबेला काठमाडौंमा छन्।
उपमेयर मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेल, माओवादी केन्द्रका युवा नेता सन्देश श्रेष्ठलगायतले डुंगामै बसेर नगरपालिकाका तर्फबाट मन्त्री किराँतीलाई सम्मानपत्र प्रदान गरे।

उनीहरूले पनि मन्त्री किराँतीसँगै तालमा सयर गरे। ताल निर्माण गर्दाको कथा-व्यथा सुनाए। यसबाट अहिले नगरपालिकालाई पुगेको फाइदाको विषयमा बेलिविस्तार लगाए।
चार वर्षअघि बनाउन थालिएको यो ताल निर्माण अझै पूरा भएको छैन। ताल निर्माणमा अहिलेसम्म ६० करोड रूपैयाँ खर्च भइसकेको छ। तर, अहिले पनि ताल निर्माणधीन अवस्थामै छ। तर, नगरपालिकाले दुई वर्ष अघिदेखि नै यो तालबाट आम्दानी लिन थालिसकेको छ।
तालबाट अहिले नगरलाई मासिक रूपमा कम्तीमा ५ लाख रूपैयाँ आम्दानी भइरहेको उपमेयर लीला मोक्तानले जानकारी दिइन्। तालकै कारण हजारौँ जनाले रोजगारी पाएका छन्। ताल वरपर सुविधायुक्त होटल र लज खुलेका छन्।

हिजोआज दैनिक हजारौँ पर्यटक यो तालमा पुग्छन्। डुंगा चढेर रमाउँछन्। पछिल्लो समय यो ताल युवायुवतीको भेटघाटस्थल पनि बन्न थालेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले धेरैपटक यो तालमा गोताखोर तालिम लिइसकेका छन्।
तालमा सयर गर्ने क्रममा मन्त्री किराँतीले डुंगा सञ्चालन गर्दा यात्रुको सुरक्षामा ध्यान दिन आग्रह गरे। ‘डुंगा चढ्दा लाइफ ज्याकेट अनिवार्य गर्नुपर्छ’, उनले भने, ‘डुंगा चढ्ने यात्रुको अनिवार्य रूपमा बिमाको व्यवस्था पनि मिलाउनु होला।’ नेपालखबर