कीर्तिपुर मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

8

काठमाडौँ : सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

शुक्रवार विजेता टोलीलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर उनीहरूलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने बताए।

उनले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न पनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण तीव्रताका साथ अघि बढाउने प्रयास भइरहेको बताए।

उनले भने, ‘सम्पूर्ण विजेता खेलाडीलाई सरकारका तर्फबाट तीन/तीन लाख दिने घोषणा गर्छु। कीर्तिपुरमा फ्लड लाइट र स्कोर बोर्ड तत्काल फेर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु।’

प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तरराष्ट्रियस्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताए।