मिटरब्याज पीडित ७० जनाको टोली महोत्तरीदेखि काठमाडौंको यात्रामा

39

सर्लाही : मिटरब्याज पीडित ७० जनाको टोली महोत्तरीबाट काठमाडौं प्रस्थान गरेको छ। 

तीन दिनअघि महोत्तरीबाट यात्रा सुरु गरेको टोली शनिबार बिहानसम्म सर्लाहीको हरिवन आइपुगेको हो। टोलीले १४ दिनमा काठमाडौं पुग्ने लक्ष्य लिएको छ।

‘जिल्ला प्रशासन कार्यालय, महोत्तरी र मधेस प्रदेश सरकारलाई दुई पटक मागपत्र बुझाउँदा पनि पीडितहरुको माग सम्बोधन नगरेकोले न्यायका लागि महोत्तरीको बर्दिबासबाट पैदल यात्रा सुरु गरेका हौँ’, टोलीको एकजना नेतृत्वकर्ता संघर्ष दाहालले भने।

उनका अनुसार, तमसुक व्यवस्था खारेज गर, कब्जा गरिएका सम्पत्ति फिर्ता गर, मिटरब्याजीको ऋण तिर्दा पनि तमसुक फिर्ता नगरी उल्टै मुद्दा लगाएर जेल पठाइएका पीडितलाई रिहा गर, यौन शोषण गर्ने मिटरब्याजीलाई कारबाही गर लगायतका माग राखी माग पत्र बुझाइएको थियो। 

तर, सुनुवाइ नभएपछि न्यायका लागि काठमाडौं प्रस्थान गरिएको हो। सरकारले मिटरब्याज सम्बन्धी कानुन बनाउनुपर्ने पनि माग राखिएको उनले बताए। मिटरब्याज पीडित टोली बर्दिबास, हेटौँडा हुँदै काठमाडौं पुग्नेछ।