बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : गगन थापा

13

सर्लाही : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन्।

साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताएका हुन्।

‘बालबालिकालाई बाँच्न, नाच्न र हास्न सिकाऔँ, बढी तनाव दिने काम नगरौँ, मेहनत गर्न सिकाऔँ’, उनले भने, ‘बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन हुँदैन।’

महामन्त्री थापाले बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने बताए। एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ छ।

‘साना-साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हो, बालबालिकालाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्छ’, उनले भने।