सर्लाहीका वनमा जतासुकै डढेलो

80

सर्लाही : सर्लाहीका विभिन्न वनमा केही दिनदेखि डढेलो लागिरहेको छ। राष्ट्रिय, सामुदायिक र साझेदारी सबैखाले वनमा डढेलो लागेको हो।

चुरे क्षेत्रमा अवस्थित हरिवन, बागमती, लालबन्दीलगायत क्षेत्रका वनमा डढेलो लागेको हो। 

उपभोक्तासहित सरोकारवाला निकायले कतिपय ठाउँमा लागेको डढेलो निभाउने प्रयास गरे पनि सुक्खा मौसम र पानी अभावका कारण सम्भव भएको छैन। एक साताअघि पानी पर्दा नियन्त्रणमा आएको डढेलो अहिले फेरि उस्तैगरी फैलिन थालेको छ।

चुरे क्षेत्रमा अवस्थित हरिवन नगरपालिका-१ को शिवेश्वर सामुदायिक वनमा पनि ३ दिनदेखि लगातार डढेलो लागिरहेको छ। 

चुरे क्षेत्रका केराबारी र खरखण्डे आसपासका गाउँबाट फैलिएको डढेलोको धुँवाले वरपरका गाउँबस्तीमा समेत असर परेको छ। 

सोमबार बिहान हरिवन-८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको नेतृत्वमा समितिका पदाधिकारी र स्थानीय उपभोक्ताले केही क्षेत्रको डढेलो नियन्त्रणमा लिएका छन्। 

स्याउला र माटोले आगो निभाउने, अग्नि रेखा काट्ने लगायतका काम गरेर उनीहरुले डढेलो निभाउने प्रयास गरेका हुन्।

तर, वनको चारैतिर डढेलो फैलिएकाले सबै डढेलो निभाउन सम्भव नभएको शिवेश्वर सामुदायिक वन समूहका कार्यवाहक अध्यक्ष बद्री बरालले बताए। 

यसअघि आइतबार पनि डिभिजन वन कार्यालय सर्लाहीको टोलीले शिवेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने प्रयास गरेको थियो। 

कार्यालयबाट डढेलो निभाउन ९ जनाको टोली परिचालन गरिएको डिभिजन वन कार्यालय सर्लाहीका अधिकृत (डीएफओ) मञ्जुर अहमदले बताए। 

सर्लाहीका वनमा जतासुकै डढेलो, निभाउने प्रयास असफल

सशस्त्र वन रक्षक ध्रुव कटवालको नेतृत्वमा गएको टोलीले गाउँ आसपासका डढेलो निभाएको हो। डढेलोको धुँवा केराबारी, कैलाशपुरी, बेतालीलगायत गाउँमा फैलिएको छ।

दिउँसो हावा चल्दा डढेलो अझ फैलिने गरेको स्थानीय बासिन्दासमेत रहेका वन हेरालु बद्री पोखरेलले बताए।

भूमि आयोगले ऐलानी जग्गाको लालपुर्जा दिने हल्ला चलेपछि जंगलमा डढेलो लगाएर जमिन हडप्ने क्रम बढ्न थालेको अध्यक्ष बरालको भनाइ छ।

डढेलोले जंगलको काठ-दाउरा, घाँसपात र ससाना बोटविरुवा र जडिबुटी नष्ट गरेको छ। त्यसैगरी वन्यजन्तु र चराचुरुंगी पनि डढेलोको प्रत्यक्ष मारमा परेका छन्। 

जंगल क्षेत्रका स्थानीय, सिकारी र घाँसे-दाउरेको असावधानीका कारण जंगलमा डढेलो फैलिने गरेको जानकारहरु बताउँछन्। कतिपयले नियोजित रुपमै पनि जंगलमा डढेलो लगाउने गरेका छन्।

वनमा जजितसुकै डढेलो लागे पनि वन कार्यालय र स्थानीय सामुदायिक वनहरुले डढेलो लगाउनेहरुको खोजी गर्ने गरेका छैनन्। डढेलो लगाउनेहरुविरुद्ध कानुनी कारबाही नहुँदा पनि डढेलो लगाउनेको मनोबल बढ्दै गएको छ।