सर्लाही : उमेर १०२ वर्ष, तर जोस जाँगर युवाको जस्तो!
झट्ट यो पंक्ति हेर्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ। तर, सर्लाहीको हरिवन-९, सुखेपोखरीका १०२ वर्षीय बबरजंग थापालाई भेट्दा यो कुरा पत्याउन करै लाग्छ।
नेपालीको औसत आयु जम्माजम्मी ७० वर्ष पुगेको छ। तर, सय वर्ष पार गरेको दुई वर्ष बितिसक्दा पनि थापा दैनिक जीवनमा लोभलाग्दो ढंगले सक्रिय छन्।
उनमा कुनै दीर्घरोग छैन। आँखा मजाले देख्छन्, कान प्रस्ट सुन्छन्। खानपिनमा कुनै रोकावट छैन। जे भेट्छन्, भरपेट खाइदिन्छन्।
कुराकानी गर्न थाले भने घण्टौँ बितेको पत्तो हुँदैन। पत्रपत्रिका पढ्छन्। ठमठम हिँडेर गाउँ डुल्छन्। अतिथिका रुपमा विभिन्न कार्यक्रममा पुग्छन्। मन्तव्य दिन्छन्। स्मरण शक्ति उस्तै छ।
केही दिनअघि भक्ति रिजालजीसँगै यो पंक्तिकार पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सुखेपोखरीस्थित उनको घरमा पुग्दा थापा भेटिएनन्। नजिकैको चियापसलमा हामीले सोध्यौँ, ‘बबरजंग बुवा यता हुनुहुन्न?’
चिया पसल सञ्चालकले भने, ‘उहाँ अघि नै यहाँबाट निस्कनुभएको हो। माथि घरतिर जानुभयो कि?’
हामी त्यहाँबाट झण्डै एक किलोमिटर उत्तरमा रहेको थापाका कान्छा छोरा पुरुषोत्तमको घरमा पुग्यौँ। तर, त्यहाँ पनि उनी भेटिएनन्।
थापाका ६८ वर्षीय कान्छा छोरा पुरुषोत्तमले भने, ‘बुवाले मोबाइल बोक्नुहुन्न। त्यतै गाउँतिर कतै जानुभएको होला। उतै भेटिनुहुन्छ।’
पुरुषोत्तमसँग केही बेर गफिएपछि हामी फेरि बबरजंग बुवाकै घर फर्कियौँ। यतिबेला भने हातमा लौरो बोकेका, ढाका टोपी, दौरा-सुरुवाल र स्टकोट लगाएका उनी आफ्नो घर नजिकैको शमीको रुखको छहारीमा भेटिए।
‘बुवा अघि यहाँ हुनुहुन्थेन नि! कता जानुभएको थियो?’
हाम्रो जिज्ञासामा उनी बोले, ‘कति एकै ठाउँमा मात्रै बसिरहनु भनेर यसो गाउँघरतिर डुल्न निस्केको थिएँ।’
हामीले केही बेर उनीसँग कुराकानी गर्न चाह्यौँ। उनले सहमति जनाए।
अंग्रेज सेनामा सहभागी भएर दोस्रो विश्वयुद्ध लडेको प्रसंगबाट उनले कुराकानी सुरु गरे। युवा अवस्थामा आफैँ मुख्य अगुवा भएर हरिवनमा दुईवटा विद्यालय स्थापना गर्दाको कुरा झिके। पानीपँधेरो, पोखरी, पार्टीपौवा र मन्दिर निर्माण गरेको सम्झिए।
वि. सं. १९७८ साउन ५ गते सिन्धुलीको रातामाटामा जन्मिएका थापा १८ वर्षको उमेरमा अंग्रेज सेनामा भर्ना हुन भारतको दरभंगा पुगेछन्।
बर्मा राइफलमा भर्ना भएर उनले तीन वर्षसम्म अंग्रेज सेनाका तर्फबाट दोस्रो विश्वयुद्ध लडे। पूर्वी लद्दाखदेखि कास्मिरसम्मका युद्धमा सहभागी भए।
‘त्यतिबेला भारतमा अंग्रेजको शासन थियो। अंग्रेजले दोस्रो विश्वयुद्ध लड्न नेपाल सरकारसँग १० हजार सेना मागेछ’, झण्डै ८२ वर्षअघि आफैँले लडेको युद्ध सम्झिँदै थापाले भने, ‘त्यही बेला हामी पनि अंग्रेज सेनामा भर्ना भयौँ। दोस्रो विश्वयुद्धका बेला हामी लद्दाखमा थियौँ। त्यही युद्धमा गजे घलेले भीसी तक्मा पाएका हुन्।’
लद्दाख र कस्मिरमा तीन वर्ष युद्ध लडेपछि उनी नेपाल फर्किए। त्यसपछि उनलाई अर्काको देशमा युद्ध लड्न जान मन लागेन। उनले अंग्रेज फौज छाडे।
वि.सं. २००३ मा उनी फेरि नेपाल पल्टनको महेन्द्र दलमा भर्ना भए। त्यहाँ चार वर्ष जागिर खाए। त्यतिबेला पनि उनी भारतका तर्फबाट पाकिस्तानविरुद्ध युद्ध लड्न कास्मिर गए। कलकत्तामा सैनिक तालिम लिए। राइफल, तोप, गोला, बारुद चलाउन सिके।
भारत-पाकिस्तान युद्ध सकिएपछि घर आएका उनलाई फेरि पल्टनमा जान मन लागेन।
‘त्यतिबेला महिनाभरको तलब जम्मा १२ रुपैयाँ आउँथ्यो’, विगत सम्झिँदै उनले भने, ‘निश्चित समय काम गरेपछि पेन्सन आउने अहिलेको जस्तो व्यवस्था पनि त्यतिबेला थिएन। घर फर्किएपछि फेरि उता जान मन लागेन। फेरि जागिर छाडेर यतै बसेँ।’
यसपछि उनले हरिवनमै खेती-किसानी गर्न थाले। तर, सैनिक बनेर देश-विदेश घुमेका उनलाई घरखेती मात्रै गरेर बस्दा चित्त बुझेन। वि. सं. २००८ मा उनी फेरि नेपाल प्रहरीमा भर्ना भए। प्रहरी भएर सर्लाहीमा तीन वर्ष काम गरेपछि त्यो जागिर पनि छाडिदिए।
‘त्यतिबेला तपाईंले किन प्रहरीको जागिर छाड्नुभयो?’ हाम्रो जिज्ञासामा उनले भने, ‘घरमा भर्खरकी श्रीमती र ससाना केटाकेटी थिए। आफू सरुवा भएर टाढा जाँदा बालबालिकालाई हुर्काउन समस्या हुने भएपछि प्रहरीको जागिर छाड्ने निर्णयमा पुगेँ।’
प्रहरीको जागिर छाडेपछि उनी गाउँघरकै सामाजिक काममा क्रियाशील हुन थाले। गाउँमा पाटीपौवा, पोखरी, इनार निर्माणको अगुवाइ गरे।
त्यतिबेला हिउँदका बेला पानीको अभाव हुन्थ्यो। पानी खुवाउन किसानले बस्तुभाउलाई बागमतीसम्म पुर्याउँथे। गाईबस्तुलाई पानीको दुःख नहोस् भनेर उनले व्यक्तिगत रुपमा २८ मन मकैधान दिएर गाउँमै पोखरी खनाए।
गाउँमा पोखरी खनेपछि बस्तुभाउलाई पानी खुवाउन सहज भएको उनी सम्झन्छन्। थापाले नै खनाएको पोखरीको नामले उक्त गाउँ यतिबेला ‘सुखेपोखरी’को नामले चिनिन्छ।
गाउँमा अलि जानेबुझेका उनै थिए। विद्यालय भर्ना भएर पढ्न नपाए पनि अनौपचारिक पढाइको माध्यमबाट पढ्न/लेख्न जानेका थिए।
हरिवनमा मात्र होइन, त्यतिबेला सर्लाहीमै कतै स्कुल थिएन। अभिभावकमा पनि आफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने ज्ञान थिएन।
सेना र प्रहरी भएर देश, विदेश घुमेका थापालाई धेरै कुराको ज्ञान थियो। पढाइको महत्त्व बुझेका थिए। उनलाई आफ्नो गाउँमा पनि विद्यालय स्थापना गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। त्यसपछि उनले यस विषयमा चिन्तन गर्न थाले।
एकदिन बडा हाकिम बद्रीविक्रम थापासँग हरिवनमै उनको भेट भयो। यो २०१५ सालतिरको कुरा हो। नातामा उनी बबरजंगका भतिज पर्थे।
त्यो भेटमा बद्रीविक्रमसँग उनले आफ्नो गाउँमा पनि विद्यालय स्थापना गर्न पाए हुन्थ्यो भन्ने मनसाय व्यक्त गरे। बडा हाकिम थापाले पनि हरिवनमा विद्यालय स्थापनाका लागि सहमति जनाए। त्यही बसाइमा उनले हरिवनमा विद्यालय स्थापनाका लागि शिक्षा कार्यालयलाई पत्र लेखिदिए।
त्यतिबेला सर्लाहीमा शिक्षा कार्यालय थिएन। शिक्षासम्बन्धी कुनै काम गर्नुपर्दा गौर (रौतहट) पुग्नुपर्थ्यो। यातायातको सुविधा थिएन।
पूर्वपश्चिम राजमार्ग नै नबनेको त्यो बेला हरिवनबाट गाडी चढेर गौर जाने कुरा त कल्पना बाहिरकै थियो। गौर जान उनी हिँडेरै भारतको सोनबर्सा पुगे।
त्यहाँबाट ट्रक र रेल चढेर दुई दिनमा गौर पुगे। त्यहाँको शिक्षा कार्यालयबाट हरिवनमा स्कुल स्थापनाका लागि स्वीकृति लिए। अनि त्यसका कागजपत्र बोकेर उनी पैदलै सर्लाही फर्किए।
बीचमा बागमती नदी तर्नुपर्थ्यो। कागजपत्र टाउकामा फेटा बाँधेरै घाँटीघाँटीसम्म आउने बागमती नदी तरेर घर फर्किएको अझै उनले बिर्सिएका छैनन्।
उनकै नेतृत्वमा २०१६ सालमा हरिवनमा महादेव प्राइमरी स्कुल स्थापना भयो। जुन हरिवन क्षेत्रकै पहिलो विद्यालय थियो।
थापा संस्थापक बनेर स्थापना भएको महादेव जनता मावि यतिबेला सर्लाही जिल्लाकै अब्बल सामुदायिक विद्यालयका रुपमा परिचित छ। अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने उक्त विद्यादलयमा अहिले झण्डै २२ सय विद्यार्थी पढिरहेका छन्।

‘त्यतिबेला स्कुल पढ्ने विद्यार्थी नै पाइँदैनथे’, ६४ वर्षअघि महादेव प्राइमरी विद्यालय स्थापना गर्दाको परिस्थिति सम्झिँदै थापाले भने, ‘हरिवनमा बस्ती नै पातलो थियो। दनुवारीमा ५०/६० घर दनुवार थिए। पुरानो बजारतिर २०/२५ घर तामाङ र मगर थिए। बेतालीमा केही घर माझी थिए। हरिवनमा क्षेत्री-बाहुनका घर भेट्नै मुस्किल पर्थ्यो। अन्त सबैतिर जंगलै जंगल थियो।’
त्यतिबेला विद्यालय भर्ना हुने विद्यार्थी मात्रै होइन, विद्यार्थीलाई क, ख सिकाउने शिक्षक पनि पाइँदैनथे।
‘अनेकथोक गरेर विद्यालयका लागि जग्गा जोडियो। विद्यालय स्थापना भयो। तर, मास्टर र विद्यार्थी पाउनै मुस्किल थियो’, विगत सम्झिँदै उनले भने, ‘विद्यालय स्थापना भएपछि भीमबहादुर सिंदाली हाम्रो विद्यालयको पहिलो शिक्षक बन्नुभयो। म विद्यालयको सेक्रेटरी बनेर पढाइ अघि बढायौँ।’
त्यतिबेला विद्यालय स्थापना गर्न भनेर रुद्रबहादुर थपलिया एक्लैले साढे चार बिघाभन्दा धेरै जग्गा निःशुल्क दिएको उनी सुनाउँछन्।
गाउँमा विद्यालय खुल्यो, तर विद्यार्थी भएनन्। भीमबहादुर सिंदाली र उनी बालबालिकालाई स्कुल भर्ना गर्न आग्रह गर्दै दस गाउँ डुल्न थाले।
अभिभावकलाई भेटेर उनले आफ्ना छोराछोरीलाई विद्यालय भर्ना गर्न सम्झाए। ‘पढ्न स्कुल आओ है’ भन्दै पुस्टकारी बाँड्दै बालबालिकालाई फकाए। विद्यालयको सेक्रेटरी भएर उनले पाँच वर्षसम्म निःशुल्क सेवा गरे।
त्यतिबेला सरकारले शिक्षकलाई तलब दिँदैनथ्यो। उनले आफ्नै घरबाट पनि पारिश्रमिक उपलब्ध गराए। ‘त्यतिबेला मैले घरको तोरी र धान बेचेर पनि मास्टरलाई तलब खुवाएँ’, थापाले भने।
हरिवनमा विद्यालय स्थापना गरेको १० वर्षपछि उनले आफ्नो घरनजिकै पर्ने सुखेपोखरीमा पनि अर्को प्राथमिक विद्यालय स्थापनाको अगुवाइ गरे।
वि.सं. २०२६ मा उनकै पहलमा सुखेपोखरीमा चतुर्भुजेश्वर मावि स्थापना भयो। त्यो स्कुललाई माविको स्वीकृति लिँदा व्यक्तिगत रुपमा १० हजार रुपैयाँ धरौटी तिरे। जहाँ अहिले स्नातक तहसम्म अध्ययन हुने चतुर्भुजेश्वर बहुमुखी क्याम्पस पनि सञ्चालनमा छ।
सिन्धुली छाडेर २००४ सालमा सर्लाही बसाइँ सरेका थापा त्यसयताका ७६ वर्षदेखि हरिवनमै छन्। १०२ वर्षको उमेरमा पनि उनी लोभलाग्दो ढंगले सक्रिय जीवन बिताइरहेका छन्।
थापा बालक छँदा नेपालमा नागरिकका छोराछोरीले सहज ढंगले पढ्न पाउनेगरी विद्यालय शिक्षाको सुरुवातै भएको थिएन।
‘मैले थाहा पाएअनुसार त्यतिबेला काठमाडौंमा दरबार हाइस्कुल थियो। महोत्तरीको मठिहानी र ४ नम्बर भोजपुरमा संस्कृत पाठशाला थिए। यो क्षेत्रमा अन्त कतै विद्यालय भएको मलाई थाहा छैन्’, उनले भने।
थापाले २००२ सालम सिन्धुलीमै हुँदा चित्रकुमारी थापासँग विवाह गरे। उनीहरुका पाँच छोरी र दुई छोरा छन्। जसमध्ये दुई छोरा शम्भु र पुरुषोत्तम तथा छोरी बबिता शिक्षण पेसाबाट सेवानिवृत्त भइसके।
२०४५ सालमा पत्नी चित्रकुमारी बितिन्। आमा बितेपछि छोराछोरीले बुवालाई आफूहरुसँग बस्न आग्रह गरे। तर, उनले मानेनन्। उनी अहिले पनि ६० वर्ष पुरानो खपडाले छाएको काठको घरमा एक्लै बस्छन्। यसरी एक्लै बसेको ३४ वर्ष भइसक्यो।
‘हामीले यो बुढेसकालमा एक्लै नबस्नूस् भन्छौँ, तर बुवा मान्नुहुन्न’, छोरा पुरुषोत्तमले भने, ‘तेरी आमा यही घरमा बिती, ऊ बितेको यो घर छाड्न मलाई मन छैन। तिमीहरुले यसो रेखदेख गर्दै गर। म एक्लै भए पनि यही घरमा बस्छु भन्नुहुन्छ। हामीले बुवाले भनेअनुसार नै गर्ने गरेका छौँ।’
छोराहरुले पुरानो घर पुनर्निर्माण गर्न खोजे। तर, उनले त्यो पनि मानेनन्। ‘बुवा यो घरलाई नचलाओ। जस्तो छ, त्यस्तै रहन देओ। तेरी आमा बितेको घर हो। यसलाई बिगार्नु हुँदैन भन्नुहुन्छ’, पुरुषोत्तमले भने।
पुरुषोत्तम हरेक दिन बिहान ९ बजे बुवालाई खाना खान बोलाउन त्यही पुरानो घरमा पुग्छन्। मोटरसाइकलमा चढेर बबरजंग छोराको घरमा जान्छन्। छोरो आउन ढिला भयो भने आफैँ हिडेर पनि छोराको घर पुग्छन्। खाना खाएपछि उनी उमेरमा आफूले बनाएको पुरानै घरमा फर्किन्छन्। जहाँ उनकी पत्नी चित्रकुमारी बितेकी थिइन्।
१०२ वर्षको उमेरमा पनि उनले माछामासु छाडेका छैनन्। दही, दूध र घिउ उनलाई अति नै मन पर्छन्।
‘बुवालाई खानामा यो खाने, यो नखाने भन्ने छैन। दालभात, तरकारी, अचार, माछामासु अहिले पनि मज्जाले खानुहुन्छ’, पुरुषोत्तमले सुनाए, ‘पुस-माघको जाडोमा पनि उहाँलाई खाना खाँदा दही नभई हुँदैन। उहाँलाई घिउ पनि अति नै मन पर्छ। घिउसँग भात खाँदा कुहिनाबाट चुहिनुपर्छ भन्नुहुन्छ।’
तर, उनी बेलुका ठोस खाना खाँदैनन्। हर्लिक्स, दूधजस्ता तरल खानेकुरा मात्रै खान्छन्।
पाँच वर्ष उपप्रधानपञ्च
२०३५ सालमा थापा तत्कालीन हरिवन गाउँ पञ्चायतको उपप्रधानपञ्च भए। प्रधानपञ्च तिलकराम पोखरेल थिए। अहिलेजस्तो त्यतिबेला स्थानीय तहसँग बजेट हुँदैनथ्यो। बजेटै नभए पनि त्यतिबेला आफूहरुले हरिवनमा विकास निर्माणका धेरै काम गरेको थापा बताउँछन्।
उपप्रधानपञ्च हुँदा उनले बाटाघाटा खोले, पानीपँधेरा बनाए। गाईबस्तुलाई पानी खान पोखरी खनाए। स्कुल सञ्चालनका लागि सहजीकरण गरे। मन्दिरहरु निर्माण गरे।
उनले राणा शासन, पञ्चायती व्यवस्था, गणतन्त्र सबै देखे। ‘चन्द्र शमशेरले शासन गर्दा म ४ वर्षको रै’छु। त्यसपछि भीम शमशेर र जुद्ध शमशेरले शासन गरे। पछि केशर शमशेर आए’, थापाले भने, ‘२००७ सालमा प्रजातन्त्रका लागि क्रान्ति हुँदा म हरिवनमै थिएँ। महात्मा गान्धीले अंग्रेजलाई धपाएर भारतलाई मुक्त गरेको चर्चा पनि त्यतिबेला खुबै चलेको थियो। हामी चाख मानेर यी कुरा सुन्थ्यौँ।’
दैनिक गर्छन् योग र व्यायाम
उनी दैनिक बिहान ३ बजेसम्म उठिसक्छन्। उठेपछि योग र व्यायाम गर्छन्। बज्रासन, पद्मासन, सिद्धासन, पुतली आसन उनका नियमित क्रिया हुन्। खाना खानेबित्तिकै बज्रासन गर्छन्।
‘बज्रासन गर्ने मान्छे हत्तपत्त बिरामी हुँदैन। यो आसन गर्दा जस्तोसुकै खाना खाए पनि सजिलै पच्छ, शरीर स्वस्थ हुन्छ। पाचन प्रणाली मजबुत हुन्छ’, उनी भन्छन्।
सैनिक सेवामा रहँदा मदिरापान गरे पनि पछि उनले छाडे। ‘फौजमा हुँदा ह्विस्की खान्थेँ’, उनले भने, ‘अफिसरले खानैपर्छ भन्थे। अनि हामी खान्थ्यौँ। पछि मदिरापान गर्न छाडेँ। चुरोट खान पनि छाडिदिएँ।’
पूर्वपश्चिम राजमार्ग बन्दा बिर्सिए प्लेन चढ्दाको खुसी
२०२४ सालमा पूर्वपश्चिम राजमार्ग बन्ने हल्ला सुरु भयो। २०२७ सालमा आफ्नै घर छेउबाट पूर्वपश्चिम राजमार्ग निर्माण थालिँदा उनी कम्ता खुसी भएनन्।
‘त्यतिबेला यो राजमार्ग बन्दा निकै खुसी लागेको थियो’, राजमार्ग छेउकै घरमा गफिँदै उनले भने, ‘फौजमा हुँदा प्लेन पनि चढियो। त्यो भन्दा धेरै खुसी भने यो राजमार्ग बन्दा लाग्यो। अहिले जता जाँदा पनि गाडी र मोटरसाइकल चढेर हिँड्न पाइएको छ।’
अहिले उनी राजमार्ग छेउमै रहेको ६० वर्ष पुरानो घरमा बसेर सडकमा गुडेका थरीथरीका गाडी हेर्छन्। राजमार्गमा गाडी गुड्दा उनलाई आनन्द लाग्छ।
‘कतिपय मान्छे गाडी गुडेको आवाजले निद्रा परेन भन्छन्। तर, सडकमा गुडेका यी गाडीले कहिल्यै मेरो निद्रा बिथोलेन’, थापाले भने, ‘मलाई त सडकमा गाडी नगुडे बरु न्यास्रो लाग्छ।’
प्रमुख अतिथि बनेर आर्यघाटको शिलान्यास
केही दिनअघि उनले सर्लाहीकै बागमती नदीमा बन्न लागेको आर्यघाटको शिलान्यास गरे।
बागमती नगरपालिकाका मेयर भरत थापाले उनैलाई प्रमुख अतिथि बनाएर १८ करोडको लागतमा निर्माण गर्न लागिएको सुविधासम्पन्न आर्यघाटको शिलान्यास गराएका हुन्।
पहिलेको भन्दा उनलाई अहिलेको जमाना रमाइलो लाग्छ। ‘त्यतिबेला केही सुविधा थिएन। अहिले सबै सुविधा गाउँघरमै आइपुगेको छ’, उनी भन्छन्।
उनले किशोर अवस्थामै सिन्धुलीको खुर्कोटमा बीपी कोइरालालाई भेटेका थिए। पछि जेलमा भएका बेला गणेशमान, बीपी, टंकप्रसादलगायत नेतालाई पनि भेटे।
‘२००७ सालअघि खुर्कोटमा कांग्रेसको शिविर (अफिस) थियो’, थापाले भने, ‘त्यतिबेला हामी कांग्रेसको शिविरमा घरलौरी एक मोहोर दाम र दुईमाना चामल बुझाउन जान्थ्यौँ।’
‘सरकारले जनताको हितमा काम गर्नुपर्छ। जनताले दुःख पाउनुभएन। सरकारको बजेट सबैतिर पुग्नुपर्छ। नेताहरुले त्यति विवेक पुर्याए देश सम्पन्न हुने थियो’, उनले भने। नेपालखबरबाट