सर्लाही : सर्लाहीसहित तराई क्षेत्रमा खडेरी लम्बिँदा जनजीवन प्रभावित बनेको छ।
पानी नपरेर अत्यधिक गर्मी हुँदा दैनिकी प्रभावित हुन थालेपछि स्थानीय बासिन्दा वर्षाको प्रतीक्षामा छन्। दिनभरको टन्टलापुर घाम र तातो हावाका कारण सर्वसाधारण घरबाहिर निस्कन गाह्रो परेको छ।
जिल्लाको बागमती नगरपालिका-८, सोल्टीका कृष्णदेव महतोले यो वर्ष अत्यधिक गर्मी महसुस भएको बताए। ‘पानी नपरेरै होला यो वर्ष त असाध्य गर्मी छ’, महतोले भने, ‘खडेरीले बाँच्नै गाह्रो पार्यो। टन्टलापुर घाम र तातो हावाले गर्दा बाहिर निस्कन सक्ने अवस्था छैन।’

अत्यधिक गर्मीका कारण मानिस शिथिल बन्न थालेका छन्। दैनिक मजदुरी गर्नुपर्ने मजदुर र किसानलाई चर्को घाम र तातो हावाले गर्दा बाहिर निस्किएर काम गर्न मुस्किल पर्न थालेको छ।
पानी नपर्दा सबैतिर सुक्खा बढेको छ। आकाशे वर्षाको भर पर्नुपर्ने चुरे क्षेत्रका बस्ती झनै उजाड देखिएका छन्।
जिल्लाकै चुरेभेगमा पर्ने हरिवन नगरपालिका-१, अत्रौलीका वडाध्यक्ष टमबहादुर घिसिङले पानी नपर्दा खेतबारी बाँझो रहेको बताए। ‘वर्षा भइदिए अब किसानले मकै छर्थे, गर्मी पनि कम हुन्थ्यो होला’, वडाध्यक्ष घिसिङले भने, ‘हाम्रोतिर वर्षा कुरेरै खेतीबाली लगाउने हो। पानी नपर्दा किसानलाई असाध्य समस्या परेको छ।’
गर्मी र खडेरीले सडकबजारमा मानिसको आउजाउ पातलिएको छ। वन जङ्गल कम रहेको दक्षिणी सीमावर्ती क्षेत्रका वस्ती र बजारमा अझ बढी गर्मी छ।
जिल्ला सदरमुकाम मलंगवा निवासी नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले गर्मीसँगै लामखुट्टे अत्यधिक लाग्दा दैनिकी कटाउन मुस्किल परिरहेको गुनासो गरे। पानी नपर्दा यो क्षेत्रमा धुलो, धुवाँको प्रदूषण बढेको छ।
यहाँका वन क्षेत्रमा लागेको डढेलो फैलिँदै गइरहेको छ। अधिकांश वनका स-साना रूखविरुवा डढेलोले सखाप भइसकेका छन्।
मानिसमा अहिले आँखा पोल्ने, खटिरा आउने, घाँटी दुख्ने, शरीरमा आलस्य हुने, रक्तचाप घटबढ हुनेजस्ता गर्मीजन्य स्वास्थ्य समस्या बढेको चिकित्सकले बताएका छन्। उनीहरूले पर्याप्त पानी पिउन, चर्को घाम र लु चलेका बेला घरबाहिर ननिस्कन सुझाव दिएका छन्।
उनले अत्यधिक गर्मी र उच्च तापक्रम रहेकाले अहिले स-साना बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर रहेका व्यक्तिको बढी ख्याल गर्नुपर्ने बताए। सर्लाहीमा आजभोली ४२-४३ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ।
