सर्लाही : सर्लाहीका किसानलाई यतिबेला हाइब्रिड मकै थन्क्याउने चटारो छ। गत फागुनमा खेतबारीमा लगाइएको मकै किसानले यतिबेला थन्क्याइरहेका हुन्।
सर्लाहीका २० वटै स्थानीय तहमा धेरथोर हाइब्रिड मकैको खेती हुन्छ। बागमती, बरहथवा, हरिवन, लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिमा भने हाइब्रिड मकैखेती धेरै हुने गरेको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले केही वर्षदेखि आफ्नो गाउँपालिकामा पनि हाइब्रिड मकैखेती बढ्दै गएको बताए।
यहाँका अधिकांश किसानले मकै रोप्दादेखि नै आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन्। खोसाल्ने र छोडाउने काम पनि मेसिनबाटै हुने गरेको छ।
थ्रेसर लगाएर झारेको मकै यहाँका अधिकांश किसानले सडकमा सुकाउने गरेका छन्।
तातो पिच सडकमा सुकाउँदा चाँडै सुक्ने भएकाले किसानले सडकमै मकै सुकाउने गरेका हुन्। सार्वजनिक सडकमा मकै सुकाउँदा दुर्घटनाको जोखिम भने बढेको छ।
सर्लाहीका बरहथवा, बागमती, चन्द्रनगरलगायत ठाउँमा यतिबेला जताततै सडकमा मकै सुकाएको देख्न सकिन्छ।
उत्पादन धेरै हुँदा घरआँगनको सानो क्षेत्रले नपुग्ने भएपछि किसान र व्यापारीले सकडलाई नै बिस्कुन सुकाउने थलो बनाउने गरेका छन्। नसुकाई भण्डार गर्यो भने हाइब्रिड मकै सड्ने डर हुन्छ।
हाइब्रिड मकैखेती बढ्दै, रैथाने मासिँदै
सर्लाहीका किसानले हाइब्रिड मकैखेती बढाउँदै लगेका छन्। लोकल (रैथाने) मकैको तुलनामा हाइब्रिड मकै मनग्गे उत्पादन हुने भएकाले यहाँका किसान हाइब्रिड मकैखेतीप्रति आकर्षित भएका हुन्।
हाइब्रिड मकैखेती बढेसँगै सर्लाहीमा रैथाने मकैखेती भने घट्दै गएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ।
सर्लाहीमा सिँचाइको सुविधा नभएको जमिनमा मात्रै अचेल लोकल मकै रोप्ने गरिएको छ। विशेषगरी चुरेभावर क्षेत्रका सुक्खा जमिनमा मात्रै अचेल लोकल मकैखेती हुन्छ। कतिपय किसानले वस्तुभाउको घाँसका लागि मात्रै लोकल मकै रोप्ने गरेका छन्।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलेश कुशवाहाका अनुसार यस वर्ष सर्लाहीमा १२ हजार ५४५ हेक्टर जमिनमा हाइब्रिड मकैखेती गरिएको छ।
सिँचाइ सुविधा भएका किसानले आफ्नो खेतबारीबाट रैथाने मकै मास्दै लगेका कुशवाहाले बताए।
सर्लाहीका किसानलाई यतिबेला हाइब्रिड मकै थन्क्याउने चटारो छ।
तर, मुख्य सिजनमै आफूले दुःख गरेर उत्पादन गरेको मकैको भाउ घट्दा भने किसान मर्कामा परेका छन्।
केही समयअघिसम्म यहाँका किसानले प्रतिक्विन्टल ३५ सयसम्ममा बेचेको मकै अहिले २६/२७ सयमा बिक्री गरिरहेका छन्। त्यो पनि भनेको बेला बिक्री हुने अवस्था छैन।
‘सर्लाहीमा मकैको होलसेल क्रेता छैनन्। जसले गर्दा मुख्य सिजनमै किसानलाई उत्पादन बिक्री गर्न समस्या हुने गरेको छ,’ मण्डलले भने, ‘किसानले उत्पादन गरेको मकै भण्डारण गर्ने ठाउँ भए यस्तो अवस्था आउने थिएन।’
उत्पादन राम्रो भए पनि यस वर्ष मकैको भाउ सोचेअनुसार नपाइएको बागमती नगरपालिका-१, मिलनचोकका किसान विनोद बडालले गुनासो गरे।
सिँचाइ सुविधा भएको जमिनमा प्रतिकठ्ठा तीनदेखि चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको छ।
सामान्य उत्पादन हुँदा पनि हाइब्रिड मकैखेतीबाट किसानले तीन महिनामै खर्च कटाएर बिघाको एक लाखभन्दा धेरै आम्दानी गर्ने गरेका छन्। अरु खेतीबाट छोटो समयमा यति आम्दानी हुँदैन।
सर्लाहीमा उत्पादित मकै विशेषगरी नारायणगढका दाना उद्योगले लैजाने गरेका छन्। उनीहरुले मनपरी भाउमा मकै लैजाने गरेको गुनासो किसानहरुको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सर्लाहीका बागमती र बरहथवा नगरपालिकामा दुई वर्षदेखि ‘मकै जोन’ लागू भएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलेश कुशवाहाले बताए।
‘सर्लाहीमा अब मकै सुपर जोनको तयारी हुँदै छ,’ कुशवाहाले भने, ‘मकैखेतीका लागि सर्लाहीको हावापानी र माटो उपयुक्त भएको भन्दै सरकारले सर्लाहीलाई मकै सुपरजोन घोषणा गर्ने तयारी अघि बढाएको छ।’
सरकारले बागमती नगरपालिकाको १० हजार हेक्टर क्षेत्रफललाई मकै सुपर जोन घोषणा गर्न लागेको कुशवाहाले जानकारी दिए।
सर्लाहीका बागमती, बरहथवा, हरिपुर, हरिवन, लालबन्दीलगायत स्थानीय तहमा बागमती सिँचाइ आयोजनाको नहरबाट सिँचाइ सुविधा उपलब्ध छ।
प्राकृतिक रुपमा सिँचाइको सुविधा नभएका ठाउँमा समेत किसानले इनार, बोरिङजस्ता स्रोतबाट पानी लगाएर हाइब्रिड मकैखेती गरिरहेका छन्।
मकै उठाएपछि खाली हुने अधिकांश जमिनमा किसानले धान लगाउने गरेका छन्। तर, कतिपय किसानले वर्षमा तीन बालीसम्म मकै नै लगाउने गरेका छन्।
व्यवस्थित ढंगले हाइब्रिड मकैखेती गर्ने किसानको जीवनस्तर पनि उक्सेको छ।
‘सिँचाइको सुविधा भएको ठाउँमा हाइब्रिड मकै जहिले रोपे पनि फल्छ। हिँउद/बर्खाले फरक पार्दैन,’ कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कुशवाहाले भने, ‘मकैखेतीबाट यहाँका धेरै किसानको आर्थिक जीवन सुधारिएको छ। तर, सिँचाइको सुविधा नभएको जमिनमा भने हाइब्रिड मकै हुँदैन।’ नेपालखबरबाट