सर्लाही : सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको रकमसहित पाँचजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ का २३ वर्षीय इन्द्रबहादुर कार्की, २८ वर्षीय कमल दर्लामी, ३४ वर्षीय सन्जिव तामाङ, २५ वर्षीय लेखबहादुर दर्लामी र लालबन्दी नगरपालिका-१ घर भई मलंगवाको बाबा अटो सर्भिसमा काम गर्ने ३१ वर्षीय नुरहसन साह रहेका छन्।
सदरमुकाम मलंगवाबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बा. ३० प. ६३१३ र बा. ९१ प.१३२५ नम्बरको मोटरसाइकल शंका लागेपछि गोरखकाली प्रहरी चौकीअगाडि जाँच गर्दा लुकाई राखिएको २ लाख ५० हजार भारतीय रुपैयाँ र १ लाख ७० हजार नेपाली रुपैयाँसहित मोटरसाइकलमा सवार पाँच जनालाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।