सर्लाही : हत्या आरोपित एक जनालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ।
हत्या घटनामा मुख्य अभियुक्त रहेका सर्लाहीको ईश्वरपुर नगरपालिका-८ बस्ने वर्ष ४० का नरेश चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
लुकीछिपी गाउँमा बस्दै आएका चौधरीलाई सुराकीका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जानकारी दिएको छ।
प्रहरीका अनुसार २०७० असोज २९ गते सिरहाको कर्जन्हास्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने बगहा खोलाको पुलमुनि हत्या गरेको अवस्थामा तनहुँको पोखरी भन्ज्याङकी २५ वर्षीया कल्पना परियारको शव फेला परेको थियो।
उक्त घटनामा चौधरी संलग्न रहेको प्रहरीले जनाएको छ। चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।