सिन्धुली : मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खुर्कोट नजिकै सुनकोशी नदीमा सरकारी गाडी खस्दा तीन जना बेपत्ता भएका छन्।
काठमाडौँबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी सवार बा.१ झ. ७४६७ नम्बरको जीप नदीमा खसेको हो।
शुक्रबार बिहान साढे ११ बजे हाइवेबाट करिब ७० मिटर तलब खसेको हो। गाडीमा ४ जना सवार रहेका ईलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ।
स्कर्पियो गाडीका चालक कृष्णबहादुर चौधरी भने दुर्घटनास्थलभन्दा १०० मिटर तलबाट पौडिँदै निस्किन सफल भएका छन्। तर अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको छ।
हराएका अन्य तीन जनाको स्थानीयको सहकार्यमा प्रहरीले खोजी कार्य थालेको छ।
दुर्घटना भएको उक्त स्थान खुर्कोटको लैकुन हो, जुन खुर्कोट बजारबाट एक किलोमिटर पूर्वको दूरीमा पर्छ।