जुम्ला : जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँ घर भएका अन्दाजी ३२ वर्षीय युवकको शव मलेशियामा अलपत्र परेको छ। आर्थिक जोहो गर्न मलेशिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं) को शव मलेशियामा अलपत्र परेको हो।
२०७० सालमा साउन १९ गते उनी वैदेशिक रोजगारीका क्रममा नेपालबाट मलेशिया उडेका थिए। देवारगाउँ घर भएका परियारको असार ८ गते निधन भएको थियो। उनको मृत्युबारे ९ गते मात्रै थाहा भएको मलेशियामा बस्दै आएका उनकै गाउँले मृगेन्द्रकुमार शाहीले जानकारी दिए।
शाहीका अनुसार उनी दिनका सुरक्षा गार्डको रूपमा रहेकाले डिउटीमा गएका थिए। राति कोठाभित्र उनको मृत्यु भएको रहेछ। उनले भने, ‘भोलिपल्ट मात्रै थाहा भएको हो।’
शाहीका अनुसार मृतकको शव अहिले मलेशियाको क्वालालम्पुरस्थित अस्पतालमा रहेको छ। उनको मृत्यु भएको ३ दिन भइसकेको छ। उनको शव नेपाल ल्याउनेबारे कुनै निकायले पहल गरेको देखिएको छैन।
अहिले उक्त शव प्रहरीको सुरक्षामा रहेको शाहीले बताएका छन्। मृतको शव नेपाल ल्याउन सरकारसमक्ष पहल गरिदिन उनले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्। उनले छिटोभन्दा छिटो शव नेपाल ल्याउन उनले हारगुहार गरेका हुन्।