लालबन्दी नगर वाङ्‌मय परिषद्ले पेस गर्‍यो वार्षिक कार्य प्रतिवेदन

92

सर्लाही : लालबन्दी नगर वाङ्‌मय परिषद्ले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आफ्नो वार्षिक कार्य प्रतिवेदन पेस गरेको छ।

आ.व.२०७९/ ०८० मा वाङ्‌मय परिषद्ले सम्पन्‍न गरेका सम्पूर्ण कामहरूको वार्षिक प्रतिवेदन परिषद्का अध्यक्ष अच्युत अधिकारीले लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गरेका हुन्।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले उक्त प्रतिवेदन बुझ्दै भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, सम्प्रवर्धनमा लालबन्दी नगर वाङ्‌मय परिषद्ले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए।

कार्यक्रममा वाङ्‌मय परिषद्का सचिव सुमन घिमिरे (अग्रिम), कोषाध्यक्ष विवश पौडेल, सदस्य टीकाराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

लालबन्दी नगर वाङ्‌मय परिषद्को स्थापना वि.सं.२०७७ चैत्र १४ गते भएको हो। लालबन्दी नगर वाङ्‌मय परिषद् ऐन, २०७७ अन्तर्गत बनेको उक्त परिषद्ले विभिन्‍न साहित्यिक कार्यक्रमहरू गर्दै आएको छ।