कैलाली : कैलालीमा गर्भपतन गराउने औषधि खाँदा अत्याधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका-१२, जुगेडाकी ३५ वर्षीया प्रिती थापा रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थापाले बिहीबार बिहान धनगढीस्थित अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएकी थिइन्।
औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको त्यही उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाउँदै आन्दोलित भएका छन्।
सो घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका-२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान थालेको छ।