सर्लाही : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगपालिका-४ स्थित लखन्देखी पुलमुनि फेला परेको टाउकोको पहिचान खुलेको छ।
टाउको भारतको सितामाढी जिल्ला मनियारीका राम दिवाकरका २३ वर्षीय छोरा अभिशेष राजको भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
अभिशेष साउन २० गते साथीसँग घुम्न सर्लाही आएका थिए। उनीसँग सर्लाही घुम्न आएका अन्य तीनजना अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएकाले अभिशेषको हत्या साथीहरुले नै गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ।

भारतबाट सर्लाही आइपुगेका मृतक अभिशेषका बाबुसहितका आफन्तले टाउको अभिशेषको भएको बताएका छन्।
मृतक अभिशेषको बाहिर कतै हत्या गरेर टाउको मात्र लखन्देही खोलामा फालेको हुनसक्ने प्रहरीकाे अनुमान छ। प्रहरीले टाउको भेटिएको आसपासको क्षेत्रमा मृतकको शव खोजी गरिरहेको छ।
हिजो बिहीबार बिहान स्थानीयले काटिएको युवकको टाउको बालुवामा छोपिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक अभिशेषसँगै नेपाल आएका अन्य तीनजना परिवारको सम्पर्क नआएकाले भारतीय प्रहरीसँग समन्वय गरि थप अनुसन्धान अघि बढाउने सर्लाहीका प्रहरी प्रमुख एसपी नरेन्द्रराज सुवेदीले जानकारी दिए ।
