लालबन्दी : महोत्तरीका निशान सुस्लिङ मगर ‘मेरो डान्स युनिर्भस’ को फाइनमा पुगेका छन्।
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको उक्त नृत्य प्रतियोगितामा निशानसँगै मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छन्।
प्रतियोगिताको फाइनल राउण्ड भोलि शनिबार हुने छ।
तीन महिनासम्म प्रसारण भएको कार्यक्रमले संसारभर रहेका नेपालीको ध्यान तान्न सफल भएको छ। प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका प्रतिभाहरूले यही प्रतिस्पर्धाका लागि आफ्नो मातृ तथा पितृभूमि नेपाल आउन पाएकामा खुसी व्यक्त गर्दै अन्तिम प्रतिस्पर्धामा रहेको भए पनि आफूहरूले एकले अर्कालाई सफल भएको देख्न चाहेको बताउँछन् ।
आफूलाई फाइनल राउण्डसम्म पुर्याउन अत्यधिक भोट गर्ने भोटरहरूलाई निशानले धन्यवाद ज्ञापन गरेका छन्।
इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको यस प्रतियोगिताको विजेताले १ करोड रुपैयाँ रुपैयाँ नगद प्राप्त गर्नेछन्। र दोस्रो हुनेले २० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा हुने अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। जहाँ सामूहिक नृत्य पनि समावेश गरिएको छ। त्यसमा प्रथम हुनेले भने ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।
यो प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो। ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।
यसैगरी गायन प्रतियोगिता मेरो भ्वाइस युनिभर्सको पनि भोलि शनिबार नै फाइनल राउण्ड हुनेछ। गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद् हुमागाईँ अन्तिम पाँचमा छन्।