एसिया कप : आज नेपाल र भारत भिड्दै

27

काठमाडौं : एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै छन्। नेपाल र भारतबीचको खेल नेपाली समयानुसार श्रीलंकाको क्यान्डीमा दिउँसो सवा ३ बजे हुनेछ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल र भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा छन्। अर्थात् दुई रोहितको कप्तानीमा रहेका दुई देशबीचको खेल जित्ने टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने छ।

भारत भने खेल बराबरी वा अंक बाँड्ने अवस्था भए पनि सुपर फोरमा पुग्नेछ। अंक तालिकामा भारत एक अंकमा छ भने नेपाल अंकविहीन छ।

प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई(दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ।

समूह ‘ए’ बाट आयोजक पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो भने भारत पाकिस्तानसँगै अंक बाँड्न बाध्य भएको थियो।