लालबन्दी : सर्लाहीको कौडेना गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको छ।
सोमबार भएको नेपाल र भारतबीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई सम्मानजनक स्कोरको लक्ष्य दिएको भन्दै गाउँपालिकाले प्रोत्साहन स्वरुप ५ लाख नगद दिने घोषणा गरेको हो।
गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादवले सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीलाई प्रोत्साहन गर्न पुरस्कार दिन लागेको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सफलता सजिलै आउँदैन, तर कडा परिश्रम र दृढ संकल्पको माध्यमबाट, हाम्रो नेपाल क्रिकेट टिमले एसिया कपमा अद्भुत प्रदर्शन गर्दै हामी नेपाली र हाम्रो नेपालको नाम क्रिकेट जगतमा प्रख्यात गरेको छ। यस्तो प्रदर्शन आगामी दिनहरुमा जारी रहोस भनी शुभकामना दिदै कौडेना गाउँपालिकाकाको तर्फ बाट नेपाल क्रिकेट टिमलाई रु पाँच लाख नगद उपहार स्वरुप प्रदान गर्ने घोषणा गर्दछु’।
नेपालले भारतसँग १० विकेटको फराकिलो हार ब्यहोरेको थियो। यद्दपि नेपालको उक्त प्रदर्शनलाई लिएर निक्कै प्रशंसा भइरहेको छ।