मलंगवाको अवस्था सामान्य बन्दै, कर्फ्यु हटाउने तयारी

37

सर्लाही : सर्लाही सदरमुकाम मलंगवाको अवस्था सामान्य बन्दै गएको छ। अवस्था सामान्य बन्दै गएकाले निषेधाज्ञा (कर्फ्यु) हटाउने तयारी स्थानीय प्रशासनले गरेको छ।

दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार साँझ पाँच बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि मलंगवा क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। 

आइतबार बिहान ८ बजेपछि निषेधाज्ञा हटाइने तयारी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

‘शनिबार दिउँसो केही असहज बनेको मलंगवाका अवस्था अहिले सामान्य छ,’ सीडीओ यादवले भने, ‘कर्फ्यु जारी भएपछि कुनै पनि अप्रिय घटना भएको छैन। गएराति पनि अवस्था सामान्य रह्यो। अब हामी निषेधाज्ञा हटाउने तयारीमा छौँ।’

कृष्ण जन्माष्टमीको मूर्ती बिसर्जका क्रममा शुक्रबार साँझ स्थानीय दुई समुदायबीच झडप भएपछि मलंगवाको अवस्था तनावग्रस्त बनेको थियो। 

शनिबार केही ठाउँमा आगजनी र तोडफोडसमेत भएको थियो। तर, सीडीओ यादवले भने केही ठाउँमा २०/२५ जना मानिस भेला भएर सामान्य प्रदर्शन गरेपनि कुनै अप्रिय घटना नभएको दाबी गरे। 

‘कतिपयले मलंगवामा आगजनी र तोडफोड भएको भन्दै सामाजिक सञ्जालमा भिडियो पनि हालेको पाइयो,’ उनले भने, ‘ती भिडियो मलंगवाका होइनन्। कतैका पुराना भिडियो होलान्। यहाँ त्यस्तो कुनै ठूलो घटना भएको छैन।’

विषयलाई अतिरञ्जित गरी अवस्था विगार्न चाहनेहरुप्रति स्थानीय प्रशासन सजग गरेको उनले बताए।