गाडीले अटो रिक्सालाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते

414

दाङ : दाङमा फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

आज (आइतबार) बिहान लु.२ ख.५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर-६ मा रा. १ ह.४४५९ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा तुलसीपुर-१६ का १३ वर्षीय किशोर दामोदर  भण्डारीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले जानकारी दिए। 

गाडीको ठक्करबाट घाइते हुने ६ मध्ये अटो चालक तलसीपुरकै ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर छ। उनको टाउको र अनुहारमा गहिरो चोट पटक लागेको प्रहरीले जनाएको छ।

तुलसीपुरमा सामान्य उपचार गरी थप उपचारको लागि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

बाँकी घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको डीएसपी पोखरेलले बताए।