महोत्तरीबाट दुई सय दश किलो गाँजासहित दुई जना पक्राउ

92

लालबन्दी : महोत्तरीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-७ बस्ने वर्ष २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका-७ का २५ वर्षीय सुरेन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका-१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो।

बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्नेक्रममा गाडीभित्र लुकाइछिपाई राखिएको १४ वटा पोकामा गाँजा बरामद भएको थियो।

पिकअप भित्र गाडीको बिचमा १४ वटा पोकामा राखिएको गाँजा चारैतिरबाट मिनिरल वाटरको बोतलले छोपिएको अवस्थामा फेला परेको थियो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।