श्रीमान डेढ वर्षदेखि रोजगारी गर्न भारतमा, नेपालमा श्रीमती गर्भवती भएपछि….

4113

डडेल्धुरा : सामूहिक बलात्कार घटनामा संलग्न चारजना अभियुक्तलाई सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर डडेल्धुराकी २० वर्षीया महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो।

बलात्कार आरोपमा भागेश्वर गाउँपालिका-३,ओडगाउँका २३ वर्षीय कमल ओड, सोही ठाउँका १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार प्रारम्भिक बयानका क्रममा चारजना अभियुक्तले कसुर स्वीकारेका छन्। स्थानीय २० वर्षीया महिलामाथि उनीहरुले वैशाख ५ गते र वैशाख १२ गते गरेर दुई पटक बलात्कार गरेको आरोप छ।

बलात्कारपछि महिलाको पेटमा ५ महिनाको गर्भ पाइएपछि घटना बाहिरिएको थियो। ती महिला विवाहित रहेको प्रहरीले बतायो। उनकी एक वर्षकी छोरीसमेत छिन्।

श्रीमान् करिब डेढ वर्षदेखि रोजगारीको शिलशिलामा भारतमा रहेको पनि खुलेको छ। ३० भदौमा स्वास्थ्य शिविरमा जाँचका क्रममा महिलाको गर्भमा ५ महिनाको भ्रुण भेटिएपछि घटना बाहिरिएको थियो।

असोज २ गते पीडितका ससुराले किटानी जाहेरी दिएपछि अभियुक्त ४ जनालाई प्रहरीले पक्राउ गरेको हो। डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।