सर्लाही : विगत पाँच दिनदेखि सर्लाही सदरमुकाम मलंगवामा जारी कर्फ्यु आदेशका सम्बन्धमा छलफल गर्न सोमबार बिहान जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बस्दै छ।
बैठकले कर्फ्युलाई निरन्तरता दिने या नदिने सम्बन्धमा आवश्यक निर्णय गर्न सक्ने सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।
स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।
धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो।
पाँच दिनदेखिको निरन्तरको कर्फ्युले मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ। कर्फ्युको कारण सदरमुकाम मलंगवा विगत पाँच दिनदेखि सुनसान छ।
‘बिहान साढे आठ बजे जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय तथा सर्वपक्षीय बैठक बस्दै छ। त्यो बैठकमा कर्फ्युलाई निरन्तरता दिने कि फरक ढंगले जाने भन्ने निर्णय हुने सम्भावना छ,’ सहायक सीडीओ घिमिरेले भने, ‘शान्ति सुरक्षालाई थप कडाइ गर्ने तर, कर्फ्यु हटाउने हो कि भन्ने ढंगले हामी सोचिरहेका छौँ।’
