भरत ताल बनाएर सर्लाही चिनाएका मेयरलाई अख्तियारमा मुद्दैमुद्दा

बागमती : सर्लाही जिल्ला भन्नासाथ अहिले सबैको दिमागमा बागमती नगरपालिकामा रहेको ‘भरत ताल’ को चित्र मानसपटलमा घुम्न थाल्छ।

मधेशको ठाउँमा बनाइएको १२१ बिघामा फैलिएको विशाल तालले आसपासका मात्र नभई भारतीय पर्यटकलाई समेत तान्यो। तालमा राखिएका मोटरबोटमा शयर गर्नेको कहिल्यै कमी भएन।

नेपालमा टिकटक प्रतिबन्ध नहुँदा भरत तालमा भिडिओ बनाउनेको घुँइचो लाग्थ्यो। भरत ताल बनेपछि देशभरि सर्लाही जिल्लाको चर्चा चुलियो। सबैले सर्लाही जिल्लालाई चिन्न थाले। सर्लाहीको आइकन नै बन्न पुग्यो भरत ताल।

भरत ताल सामान्य अठोटले बनेको थिएन। नगरपालिकाले ठूलो आँट र प्रयासमा बनेको हो। जुन प्रयासका कारण देशभर नै जिल्लाको नामसमेत चर्चित हुन पुग्यो।

सीमावर्ती भारतमा पनि भरत ताल प्रसिद्ध छ। अंग्रेजी नयाँ वर्षका बेला ताल परिसरमा भारतीय पर्यटकको घुइँचो थेगिनसक्नु हुन्छ। तालसँगै एक छेउमा एडभेन्चर स्काई साइक्लिङ, घोडचढी, उँटचढी, बालबालिकाका लागि खेल्ने सामग्रीसमेतको पार्क छ । तालकै छेउमा तयार हुँदै गरेको एक सय बिघा क्षेत्रफलको नगर बगैँचा पर्यटकका लागि अर्को आकर्षणको केन्द्र बनिरहेको छ । ताल बनेसँगै रोजगारी पनि व्यापक वृद्धि भएको छ। ताल किनारको व्यापार व्यवसाय पनि फष्टाएको छ।

मधेश प्रदेशकै पर्यटकीयस्थल बनाउने अभियानको अगुवाइ गर्ने नगरपालिकाका मेयर भरत थापाकै नामले ताल प्रसिद्ध हुन पुगेको हो। नगरपालिकाले माछा पोखरी बनाएको भए पनि त्यहाँ पुग्ने पर्यटकले भरत तालको रुपमा त्यसको प्रचार गरेपछि अहिले यही नामले चिनिन थालेको छ। देशव्यापी चर्चामा आउनेगरी काम गरेपछि थापासँग रिस गर्नेहरू पनि बढेको उनी निकटहरू बताउँछन्।

त्यत्रो ताल बनाएर नगरपालिका र जिल्लाकै नाम राख्ने मेयर भरत थापालाई भने अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको छ।

भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान गरि थापासमेत माथि विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। त्यसअघि उनीमाथि सम्पत्तिको स्रोत नखुलेकोमा अर्को मुद्दा पनि विशेष अदालतमा दर्ता छ।

विकासका काममा कुनै सम्झौता नगरी अघि बढ्दै जाँदा रिस गर्नेहरूले उनीमाथि उजुरी दिएको उनको कामको प्रशंसकहरूको आरोप छ। ‘यसरी काम गर्नेमाथि अनेकौं झन्झट लगाउने प्रवृत्तिले देशलाई विकास हुनबाट रोक्छ,’ छिमेकी हरिवनका विवेक मैनालीले भने, ‘काम गर्नेलाई मुद्दा लाग्ने भएपछि कसले काम गर्छ ? काम गर्नेलाई मनोबल बढाउनु पो पर्ने हो। सत्यले सुरुमा दुःख पाए पनि जित सत्यकै हुन्छ भन्नेमा हामी ढुक्क छौं।’

मुद्दा दर्ता भएपछि निलम्बित मेयर थापाले ‘बगरलाई पर्यटकीय शहर बनाउनु नै अभिशाप भएको’ प्रतिकृया दिएका छन्। काम नगरी कागज मिलाउनेहरू सम्मानित हुने र काम गर्नेहरू अपमानित हुनुपरेको उनको गुनासो छ।

मुद्दा दर्ता भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै ताल निर्माणका क्रममा भएका कामहरूको फेहरिस्त सार्वजनिक गरेका छन्। विधि र प्रक्रिया पुर्याएर काम गरेको उनको जिकिर छ। उनले ताल बनाउँदा उत्खनन गरिएको ढुंगा, गिटी र बालुवाका विवरण पनि फेसबुकबाट सार्वजनिक गरेका छन्।

बागमती नगरपालिकामा राम्रो काम गरेकै कारण दोस्रो पटक पनि थापाले चुनाव जिते। उनको पालामा पालिकामा भएको परिवर्तनलाई स्थानीयले पनि कल्पनाभन्दा बाहिरको भनेर प्रशंसा गरेका छन्। अहिलेको परिवर्तन उनीबाहेक अरू मेयर भएको भए असम्भव हुने स्थानीयको भनाइ छ। राम्रो गर्नेलाई दुःख दिएको भन्दै स्थानीयले उनको पक्षमा ऐक्यवद्धता जनाएका छन्।

वेभटिभी खबर

सम्बन्धित समाचार

सबै