सिराहा : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको एक सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा संलग्न बोलेरो पिकअपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, सुरुमा बाप्र ०१–०३२ च ८९७१ नम्बरको एउटा ईभी कार विद्युत् पोलमा ठोक्किएर अनियन्त्रित भई सडक छेउको नालामा खसेको थियो। त्यसपछि कार चालकले प्र.२–०४–००१ च ००३३ नम्बरको सेतो बोलेरो पिकअप बोलाएर घटनास्थलबाट भाग्ने प्रयास गरेका थिए।
भाग्ने क्रममा सो बोलेरो पिकअपले सडकमा हिँडिरहेका पाँच जना पैदल यात्रुलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका सप्तरीको मिर्चैया नगरपालिका–८ भगवतपुर निवासी गुनाई ठाकुरको हमेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
यसैगरी, दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा मिर्चैया नगरपालिका–८ भगवतपुर बस्ने वर्ष ३९ का रामपुकार ठाकुर, सोही ठाउँका १० वर्षीय एक बालक, ६ वर्षीय बालक सुमन शर्मा र मिर्चैया–६ बस्ने वर्ष ३२ की सुभली कुमारी यादव रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापश्चात फरार रहेका बोलेरो चालक मिर्चैया–८ निवासी २३ वर्षीय चन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएअनुसार, चालक रायमाथि थप अनुसन्धान भइरहेको छ।