लालबन्दी : असोज १६ गते घरबाट केही नभनी निस्किएका लालबन्दी-१७ का ७६ वर्षीय ज्ञानबहादुर श्रेष्ठ अझै फेला पर्न सकेका छैनन्।
दिउँसो करिब साढे १२ बजे नवलपुरस्थित साथीकहाँ जान्छु भनी हिँडेका उनी कहाँ पुगे केही अत्तोपत्तो नभएको छोरा खेमले बताए।
‘बिहानको खाना खाएर निस्किनुभएको, कहाँ पुग्नुभयो केही पत्तो पाएका छैनौँ, आफन्तजति सबैसँग सम्पर्क गरिसक्यौँ तर बुवालाई भेट्टाउन सकिएन,’ उनले बताए।
लगाएको लुगा र साथमा २ हजार रुपैयाँ मात्र बोकेर हिँडेका ज्ञानबहादुर प्रेसरका बिरामी हुन्। नियमित औषधि खानुपर्ने भए पनि उनले साथमा औषधिसमेत नबोकी हिँडेका वृद्ध श्रीमती पदममायाले बताइन्। ‘भोलि जमारे औंशी छ, आज किन हिँड्नुहुन्छ भनेर मैले नजानू भनेको थिएँ तर मान्नुभएन,’ दुःखी हुँदै पदममायाले भनिन्, ‘साथीकहाँ जान्छु भन्नुभएको थियो अहिलेसम्म फर्केर आउनुभएन।’

नवलपुर (लालबन्दी नपा १) मा रहेको साथीको घर जान्छु भनी हिँडेका तर त्यहाँ सम्पर्क गर्दा पनि उनी नपुगेका छोरा खेमले बताए।
घरबाट एक्कासि हिँडेका ज्ञानबहादुरलाई वरपर छिमेकाकाले पनि कहाँ गए भनेर नदेखेका बताए। बस काउन्टर र वरपरका सबै ठाउँमा आफूहरूले सोधिसकेको खेमले बताए।
‘बुवाले यसरी घर छाडेर हिँड्नुहुन्छ भन्ने लागेको थिएन, घरझगडा भएको पनि छैन,’ पेशाले शिक्षक खेमले निराश हुँदै भने, ‘वृद्धभत्ता ल्याएर घरमा बुझाएर हिँड्नुभयो, हामी खोज्न कहाँ कहाँ पुगिसक्यौँ।’
३६ वर्ष एउटै विद्यालयमा कार्यालय सहायकका रूपमा कार्यरत ज्ञानबहादुरले लालबन्दी-१७ कै कालिञ्जोर माध्यमिक विद्यालयबाट कोभिडको समयमा उमेर हदका कारण विद्यालय छाडेका थिए।

बुवाले स्थायी हुन नपाएको बेलाबेलामा दुःखेसो गर्ने गरेका छोरा खेमले बताए। ‘बुवाले जागिर छाडेपछि कतै आश्रमतिर बस्न जान्छु भन्नुहुन्थ्यो, तर यसरी हराउनुहुन्छ भन्ने लागेको थिएन,’ खेमले भने।
आफ्नो बुवाले ३६ वर्ष सरकारी सेवामा रहे पनि राज्यबाट केही नपाएर बिरक्तिनुभएको हो कि भन्ने लागेको खेमको बुझाइ छ।
ऋण तिरेर घर छाडे
घरबाट लगाएको लुगा र २ हजार रुपैयाँ लिएर हिँडेका ज्ञानबहादुरले वृद्धभत्ता बुझेपछि छिमेकमा आफूले लिएको केही मानिसको ऋण तिरेर बाँकी पैसा छोरा खेमलाई दिएका थिए। ‘झोलासमेत नबोकी जानुभएको छ, प्रेसरको दबाई भए पनि बोकेर जानुभएको हुन्थ्यो, कहाँ पुग्नुभयो होला ? के खानुभयो होला? घर बस्न मन रहेनछ उहाँलाई, हामीलाई पनि केही भन्नुभएन,’ निराशभावमा वृद्धा पदममायाले भनिन्।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले ज्ञानबहादुरको खोजी कार्य तीव्र बनाइएको र सबैसँग समन्वय गरेर व्यापक खोजी गरिएको जानकारी दिए।
