लालबन्दी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लालबन्दी बजारको सवारी चाप कम गर्ने र कृषकलाई सहज बजार उपलब्ध गराउने उद्देश्यसहित सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जमा ‘देवता महाकाली कृषि बजार’ सञ्चालनमा आएको छ ।
आइतबार एक विशेष समारोहका बीच कृषि बजारको औपचारिक शुभारम्भ गरिएको हो ।
लालबन्दी नगरपालिकाका पूर्व नगरप्रमुख रामबहादुर खड्काको अध्यक्षता तथा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलको प्रमुख आतिथ्यमा बजारको उद्घाटन गरिएको हो ।
लामो समयको प्रयासपछि वडा कार्यालय, लालबन्दी नगरपालिका, मधेश प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा करिब १ करोड ९ लाख रुपैयाँको लागतमा बजारको आवश्यक भौतिक संरचना निर्माण गरिएको हो । स्थानीय देवता महाकाली गुठीले उपलब्ध गराएको चार बिघा जग्गामा १२ वटा सटर तथा ३६ वटा स्टलसहितको व्यवस्थित कृषि सेड तयार पारिएको छ ।
सञ्चालक समितिका अनुसार लामो समयदेखिको तयारीपछि आगामी कात्तिक १५ गतेदेखि बजार नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । आइतबार लाग्ने हाटबजारमा तरकारीका साथै खसीबोकासमेत किनबेच हुने गरी व्यवस्था मिलाइएको छ ।
रानीगन्जको यो कृषि बजारलाई लालबन्दीको मुख्य तरकारी बजारको विकल्पका रूपमा हेरिएको छ । हाल लालबन्दी नगरपालिका–७, डुमडुमे मन्दिरअगाडि १८ कट्ठा क्षेत्रफलमा मात्र तरकारी बजार सीमित हुँदा ठाउँ साँघुरो भएर प्रत्येक दिन बिहान २ देखि ३ घण्टासम्म पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।
कार्यक्रममा बोल्दै लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले महेन्द्र राजमार्ग विस्तारपछि लालबन्दीको मुख्य बजार थप साँघुरिने अवस्था रहेकाले रानीगन्ज र नवलपुरमा तरकारी बजार विस्तार गर्नुको विकल्प नरहेको स्पष्ट पारे । उनले लालबन्दीको अस्तव्यस्तता अन्त्य गर्न यी बजारहरूलाई व्यवस्थित गरिने बताए ।
त्यसैगरी, लालबन्दी थोक तरकारी बजारका अध्यक्ष प्रमोद थपलियाले रानीगन्ज तरकारी बजारलाई तरकारी उपसङ्कलन केन्द्रका रूपमा विकास गर्न आफूहरूले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मधेश प्रदेशसभा सदस्य बेची लुंगेली, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज आचार्य, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पँजियार, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो तथा प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र कृषकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।