लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित महेन्द्र राजमार्गको आडैमा निर्माण गरिएको तरकारी बजार सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बजारको संरचना तयार भएको दुई वर्ष बितिसक्दासमेत अहिलेसम्म सञ्चालन हुन सकेको थिएन ।
लालबन्दी नगरपालिका–१७, रानीगन्जका वडाध्यक्ष विष्णुहरि अधिकारीले अब भने यही कात्तिक १५ देखि नियमित रूपमा तरकारी बजार सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए।
वडाध्यक्ष अधिकारीका अनुसार कात्तिक १५ गते बजारको औपचारिक उद्घाटनपछि दैनिक तरकारी किनबेच सुरु गर्ने योजना छ । उनले भने, “प्रत्येक आइतबार हाटबजार लगाउने र हरियो तरकारीको किनबेच भने दिनहुँ गर्ने गरी तयारी गर्दै छौँ ।”
आइतबार लाग्ने हाटबजारमा खसीबोकासमेत किनबेच हुने गरी बजार लगाउने तयारी छ । उहाँका अनुसार लामो समयदेखिको प्रयासपछि कात्तिक १५ देखि बजार लगाउन सुरु गर्ने निर्णय गरिएको हो ।
वडा कार्यालय, नगरपालिका, मधेश प्रदेश सरकार र सङ्घीय सरकारको करिब एक करोड नौ लाख रुपैयाँको लागतमा रानीगन्ज तरकारी बजारका संरचना तयार पारिएको हो ।
देवता महाकाली गुठीले उपलब्ध गराएको चार बिघा जग्गामा १२ वटा सटर र ३६ वटा स्टलसहितको कृषि सेड तयार अवस्थामा छन् ।
रानीगन्जको यो तरकारी बजारलाई लालबन्दी तरकारी बजारको विकल्पका रूपमा हेरिएको छ । लालबन्दीमा दैनिक लाग्ने थोक तरकारी बजार अत्यन्त साँघुरो हुँदा प्रत्येक दिन बिहान दुई/तीन घण्टा पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन नै प्रभावित बन्दै आएको छ ।
लालबन्दी नगरपालिका–७, डुमडुमे मन्दिरअगाडि हाल १८ कट्ठा क्षेत्रफलमा तरकारी बजार बस्दै आएको छ । लालबन्दी थोक तरकारी बजारका अध्यक्ष प्रमोद थपलियाले सञ्चालनमा ल्याउन लागिएको रानीगन्ज तरकारी बजारलाई तरकारी उपसङ्कलन केन्द्र बनाउन आफूहरूले पनि समन्वय तथा सहकार्य गर्ने बताएका छ्न् ।
लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले महेन्द्र राजमार्ग विस्तारपछि लालबन्दीको तरकारी बजार थप साँघुरिने अवस्था रहेकाले रानीगन्ज र नवलपुर दुवै स्थानमा तरकारी बजार सञ्चालनमा ल्याउनुको विकल्प नै नरहेको बताए ।
लालबन्दी तरकारी बजारको अस्तव्यस्ततालाई व्यवस्थापनका लागि नवलपुर र रानीगन्ज तरकारी बजारलाई विकल्पका रूपमा अघि सारिएको नगरप्रमुख अधिकारीले बताए । -गोरखापत्रबाट