पोखरी सौन्दर्यीकरण ७ वर्षदेखि अलपत्र : आक्रोशित युवाले पूर्वाधार विकास कार्यालयको गेटमै फाले फोहोर

मलङ्गवा : मधेश प्रदेश सरकारको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत सुरु गरिएको पोखरी सौन्दर्यीकरणको काम सात वर्षदेखि अलपत्र परेपछि आक्रोशित स्थानीय युवाले कार्यालय परिसरमै फोहोर लगेर फालेका छन्।

सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीस्थित ऐतिहासिक ‘बड्की पोखरी’को काम लामो समयसम्म अघि नबढेको भन्दै युवाहरूले शनिबार पोखरीबाट निकालिएको एक ट्याक्टर जलकुम्भी तथा फोहोर पूर्वाधार विकास कार्यालय मलङ्गवाको मुख्य प्रवेशद्वारमै लगेर खन्याइदिएका हुन्। दशैँ बिदाका कारण उक्त कार्यालय हाल बन्द रहेको छ।

यसअघि अलपत्र योजना सुचारु गर्न माग गर्दै मुसैलीका युवाहरूले गत असोज २६ गते पूर्व–पश्चिम हुलाकी राजमार्गमा चक्काजाम गरेका थिए। त्यसयता स्थानीय युवाहरू आफैँ पोखरी सरसफाइमा जुटेका थिए।

सरसफाइ अभियानको १३औँ दिनमा पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएपछि दबाब र चेतावनीस्वरूप पहिलो चरणमा एक ट्याक्टर फोहोर कार्यालय परिसरमा फालिएको आन्दोलनको नेतृत्व गरिरहेका सर्लाही क्याम्पस मलङ्गवाका स्ववियु सभापति सुजितकुमार यादवले जानकारी दिए।

मधेश प्रदेश सरकारले मुसैलीस्थित बड्की पोखरीलाई पर्यटकीय तथा आकर्षक बनाउने उद्देश्यले सात वर्षअघि ७ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो योजनाको तत्कालीन मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय मन्त्री महेन्द्र राय यादव र प्रदेश सभा सदस्य अशोक यादवलगायतले भव्य समारोहबीच शिलान्यास गरेका थिए। तर, शिलान्यासपछि योजना अघि नबढ्दा पोखरी दिनानुदिन कुरुप बन्दै जलकुम्भीले भरिएको स्थानीयको गुनासो छ।

पोखरीको सौन्दर्यीकरण अलपत्र पर्दा गाउँको शैक्षिक क्षेत्रसमेत प्रत्यक्ष प्रभावित बनेको छ। पोखरी सुकाएर अलपत्र छाडिँदा माछापालनका लागि ठेक्का लगाउन नपाएपछि गाउँको बौधीदेवी माध्यमिक विद्यालयले पाउँदै आएको नियमित आम्दानी गुमेको छ। पोखरीको ठेक्काबाट हुने आम्दानी रोकिँदा विद्यालयले निजी स्रोतका शिक्षकहरूलाई तलब खुवाउन नसकेको र त्यसको प्रत्यक्ष असर बालबालिकाको पठनपाठनमा परेको स्थानीयवासीले बताएका छन्।

युवाहरूले अलपत्र परेको काम तत्काल पुनः सुरु नगरिए आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

सबै