धनुषा अदालत अगाडि मिटरब्याजपीडित महिलाद्वारा आत्मदाहको प्रयास

जनकपुर । जनकपुरमा बुधबार एक मिटरब्याजपीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्। धनुषा जिल्ला अदालत अगाडिको मुख्य सडकमा विरोध प्रदर्शन गर्ने क्रममा उनले आत्मदाहको प्रयास गरेकी हुन्।

आत्मदाहको प्रयास गर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ घर भएकी फुलकुमारी रजक रहेकी छन्। मिटरब्याज पीडितहरूले अदालत अगाडि विरोध प्रदर्शन तथा नाराबाजी गरिरहेको समयमा रजकले अचानक आफ्नो शरीरमा पेट्रोल खन्याएकी थिइन्। उनले पेट्रोल खन्याउनासाथ घटनास्थलमा तैनाथ प्रहरी टोलीले तुरुन्तै हस्तक्षेप गरी उनलाई सुरक्षित रूपमा उद्धार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुधन न्यौपानेका अनुसार रजकलाई उद्धार गरी तत्कालै थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको डीएसपी न्यौपानेले जानकारी दिए।

अदालतबाट आफूले न्याय नपाएको भन्दै उनले निराशा र आक्रोश व्यक्त गर्दै सो कदम चालेको बताइएको छ। घटनाका सम्बन्धमा थप विवरण संकलन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै