मोटरसाइकलले पिछा गरेर लुटेराले लगे सहकारीको ८० लाख रुपैयाँ

जनकपुरधामः हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन्।

सोमबार बिहान करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषाको रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतो र रेखाकुमारी महतोसँग भएको ८० लाख रुपियाँ लुटिएको हो।

सहकारी कर्मचारी महतोले जनकपुरस्थित हिमालयन बैङ्कबाट रकम झिकेर दुवै जना मोटरसाइकल चढेर रघुनाथपुरतर्फ गइरहेको अवस्थामा पिछा गर्दै मोटरसाइकलमा आएका तीन जनाको हतियारधारीले बन्दुक देखाएर आफूसँग भएको सो रकम लुटेर फरार भएको बताए।

लुटेरा समूहले बन्दुक देखाएर कुटपिट गर्दै आफूसँग ब्यागमा भएको रकम लुटेर लगेको उनले जानकारी दिए।

उनका अनुसार लुटेराहरूले प्रयोग गरेको मोटरसाइकल निलो कलरको अपाचे रहेको छ। मोटरसाइकलको नम्बर प्लेटबाट अगाडिको नम्बर मेटिएको भए पनि अन्तिमको ५३ नम्बर मात्र देखिएको सहकारी कर्मचारी महतोको भनाइ छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै