गोलबजार । सिरहाको गोलबजार नगरपालिका–७ मा आइतबार दिउँसो एकै परिवारका तीन जना बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
गोलबजार–७ स्थित पशु बजार नजिकै वर्षाको पानी जमेर बनेको पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा स्थानीय अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख, १० वर्षीया छोरी रुविना खातुन र १२ वर्षीया छोरी सवनम खातुन रहेका छन् । वडा नं. ७ का वडाध्यक्ष हरिशरण ठाकुरले मृतकहरू एकै परिवारका भाइबहिनी रहेको पुष्टि गरेका हुन् ।
हालै भएको वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बनेको थियो । सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू अचानक गहिरो पानीमा डुबेका हुन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो ।
स्थानीय बासिन्दाले पोखरीमा ५ जना बालबालिका डुबेको हुनसक्ने आशङ्का गरे पनि यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ।
थप कोही डुबेको छ कि भनी सुरक्षाकर्मीको टोलीले अहिले पनि घटनास्थलमा खोजी तथा खोजतलास कार्यलाई जारी राखेको छ ।