काठमाडौँ । मुलुकमा हुन सक्ने भारी वर्षा तथा सम्भावित विपद्लाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले विद्यालय तथा विश्वविद्यालयका परीक्षा प्रभावित हुन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालयहरूमा बिदा दिन स्थानीय सरकारलाई आग्रह गरेको हो।
मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएपछि मन्त्रालयले यस्तो निर्णय लिएको हो।
मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पठाएको पत्रमा सोही अवधिमा सञ्चालन हुने विश्वविद्यालय तथा अन्य निकायका परीक्षाहरू आवश्यकताअनुसार स्थगित गर्न समेत अनुरोध गरेको छ।
विपद्को समयमा विद्यालय भवनहरूलाई सुरक्षित राख्न र आवश्यकता परेको खण्डमा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सहजीकरण गरिदिन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
साथै, मन्त्रालयले अभिभावकहरूलाई सचेत गराउँदै यस अवधिमा आफ्ना बालबालिकाहरूलाई नदी, खोला, पोखरी र पहिरोको उच्च जोखिम भएका स्थानहरूमा जान नदिन विशेष आग्रह गरेको छ।
विपदबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न र विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै मन्त्रालयले सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
